भोको पेट र थकित शरीरमा पढ्न बाध्य, इच्छा हुँदाहुँदै पढ्न पाउने अवसर नै छैन

बनेपा ।बिहान झिसमिसमा नै उठेर घरधन्दा गरी किताब काखी च्यापेर विद्यालय जाने र बेलुका फर्केपछि भ्याइञ्जेल घरको काममा सघाउने सुशीला ग्लानको दैनिकी छ । खानीखोला गाउँपालिका–३ जुरे घदेखि डेढघण्टाको ओरालो हिँडेर कुपिन्टारको विद्यालय जाने र बेलुका उकालो चढेर घर फर्कनुपर्ने बाध्यता रहेको बताउने उहाँ गृहकार्यसमेत गर्न भ्याउनुहुन्न ।

“हिँड्दा हिँड्दै थकित हुन्छु, कहिले त गृहकार्य गर्न पनि भ्याउँदैन”, उहाँले भन्नुभयो, “इच्छा हुँदाहुँदै पनि राम्रोसँग पढ्न पाउने अवसर नै छैन ।” कैयौँ पटक त गृहकार्यविना नै किताब बोकेर विद्यालय आउने जानेमा नै गर्नुपर्ने अवस्था व्यहोरेको उहाँले बताउनुभयो ।

सुशीला मात्रै होइन, छिमेकी गाउँपालिका महाभारत वडा नं २ रातमाटेका ल्होङसाल तामाङ गाउँको विद्यालयमा प्राथमिक तहको पढाइ सकेपछि कक्षा ६ देखि घरबाट एक घण्टाको पैदल हिँढेर पढ्न थालेको चार वर्ष भयो ।

उनी शुरुमा बाल उज्ज्वल प्राथमिक विद्यालयमा अध्ययन गरी हाल माध्यमिक तह अध्ययनका लागि कालीदेवी मावि कुपिन्टारमा कक्षा १० मा अध्ययनरत छन् । गाउँ नजीकै विद्यालय नभएका कारण त्यसरी पढ्न बाध्य भएको उहाँको भनाइ छ ।

सोही वडाका जोरसाँगा घर भएका अर्का विद्यार्थी मुना वाइबा बिहान घरको काम सघाएर विद्यालय जानुहुन्छ । घरदेखि विद्यालय पुग्न डेढ घण्टाको बाटो हिँड्नुपर्ने उहाँ जस्तै गाउँका छसात जनालाई दैनिकी त्यसरी नै पढाइका लागि दिन गुजार्नुपर्ने बाध्यता छ । “बिहान उठेर घरको काममा सघाएपछि बेलुका फर्कँदा भने घरको काम गर्नुपर्दैन”, कक्षा १० मा अध्ययनरत वाइबाले भन्नुभयो ।

सोही ठाउँका कक्षा १० मा अध्ययनरत विनेक वाइबाले भने गाउँबाट विद्यालय आउन धेरै टाढा भएका कारण यसै शैक्षिक सत्रदेखि विद्यालय नजिकै कोठा लिएर बस्दै आएको बताउनुभयो ।

“घरबाट हिँडेर आउन पौने दुई घण्टा लाग्छ, त्यसैले यसपालिदेखि विद्यालय नजीकै कोठा लिएर बसेको छु”, उहाँले भन्नुभयो, “तरकारी यतै गाउँतिर पाइन्छ, भातको लागि कहिले घरबाट ल्याउने, कहिले किन्ने गरेर पढिरहेको छु ।” “यस पटक पसलबाट चामल मगाएको छु ”, उहाँले भन्नुभयो ।

प्र्राथमिक तह गाउँकै जोरसाँगामा अध्ययन गर्नुभएका उहाँले कक्षा ६ देखि सो विद्यालयमा अध्ययन गर्दै आउनुभएको हो । “गाउँमा अहिले पनि मावि तह चलेको छैन, त्यहाँका सबै बालबालिका पढ्न आउने यही हो ”, उहाँले भन्नुभयो, “गाउँको गोरेटो बाटो, अचेल गाउँमा मोटरबाटो खनेका कारण पानी पर्दा माथिबाट ढुङ्गा झर्ने गरेकाले हिँड्डुल गर्न जोखिम छ ।”

अर्का विद्यार्थी मानध्वज वाईबाले विद्यालय आउने वेलामा खाजा बोकेर नै आउने गरेको बताउनुभयो । “आजभोलि कोचिङ कक्षा चलिरहेको छ, त्यसैले विहान साँढे चार÷पाँच बजे उठेर खाना पकाएर खाई हिड्नुपर्छ”, उहाँले भन्नुभयो, “बिहानै घरबाट निस्केदेखि बेलुका साढे ६ बजेतिर मात्रै पुग्ने भएकाले खाजा बोकेर आउने गरेको छु । ”

जिल्लाकै विकट डाँडापारिको महाभारत र खानीखोला गाउँपालिकाको सिमानामा पर्ने कुपिन्टार उक्त भेगमै एक मात्र मावि तहको विद्यालय हो । त्यसैले पनि गाउँ नजीकै भएको प्राथमिक तह सकेपछि कि त विद्यालय छाड्ने कि त घण्टाैँको बाटो हिँडेर भोकै पढ्नाको विकल्प छैन ।

सरकारले स्वास्थ्य, शिक्षा र रोजगार मौलिक अधिकारभित्र रहेको उल्लेख गरे पनि विकट डाँडापारिका बालबालिकाको पढ्ने पाउने अधिकारलाई सहज र सुलभ ढङ्गले उपलब्ध गराउन सकेको छैन ।

कुपिन्टारका जनकबहादुर मोक्तानले भएको विद्यालयको भौतिक संरचना जीर्ण भएको र नजीकका घर पनि पर्याप्त नभएका कारण विद्यार्थीलाई पढ्न र बस्न समस्या भइरहेको बताउनुभयो ।

“विद्यालयमा छात्रावासको व्यवस्था गरेको खण्डमा यहाँका विद्यार्थीको धेरै राम्रो हुनेछ”, उहाँले भन्नुभयो, “हिँडेर आउँदा प्रेसर बढ्ने, तिर्खा लाग्ने र गर्मीमा तापाक्रम बढ्ने भएर बेहोश भएर ढल्ने तथा थकित हुने भएर पढाइमा भन्दा पनि आरामको लागि बढी ध्यान जाने अवस्था देखेको छु, त्यसको लागि स्थानीय सरकारले सोचेर आवश्यक व्यवस्थापन गरेमा राम्रो हुनेछ ।”

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने छात्रावासको व्यवस्था गर्नका लागि स्थानीय सरकारले मात्रै सम्भव नहुने बताउनुभयो । “विषय अत्यन्तै महत्वपूर्ण भएकाले हामीले मात्रै सोचेर सम्भव छैन, यसको लागि प्रदेश र सङ्घ सरकारले पनि यहाँका बालबालिकाको शिक्षा पाउने अधिकारलाई सुनिश्चित गर्न बृहत्तर योजना तयार गर्न आवश्यक छ”, गाउँपालिका अध्यक्ष जिम्बाले भन्नुभयो ।

गाउँको विकट क्षेत्र बस्ती छरिएर रहेका कारण सबै बालबालिकाको पहुँचसम्म माध्यमिक तहको शिक्षा प्रदान गर्न निकै कठिन भएको छ । विद्यार्थी दुई तीन घण्टासम्मको बाटो हिँडेर पढ्न बाध्य छन् ।

स्थानीय सरकारको पहलमा मात्रै ती सबै समस्या समाधन गर्न नसकिने जिम्बाको भनाइ छ । प्रदेशसभा सदस्य रत्न ढकालले विकासको अभावबाट निकै पीडामा रहेका जनताका लागि बिजुली, सडक र स्वास्थ्य क्षेत्रमा धेरै काम अघि बढिसकेको बताउनुभयो ।

गुणस्तरीय शिक्षामार्फत शैक्षिक जनशक्ति उत्पदान गर्ने अभियानमा सरकार लागिरहेको उहाँको जिकिर छ । ‘एक विद्यालय एक नर्स’ राख्ने अभियान सञ्चालन गर्न खोजिरहेको र त्यसमा पनि टाढाटाढाका विद्यार्थीका लागि व्यवस्थित गर्न सबै तहका सरकार उत्तिकै जिम्मेवार भएर लागिरहेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close