‘लकडाउन’मा युवा नेता के गर्दै छन् ?

काठमाडौँ, चैत १३ । कोरोनासँग ‘आत्मसमर्पण’ : युद्ध होस् वा प्राकृतिक प्रकोप, हरेक संकटबाट उम्किन युवा पुस्ताको महत्वपूर्ण भूमिका हुन्छ । तर, विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९)सँग लड्ने अवस्थामा युवा पुस्ता पनि छैन । विश्व स्वास्थ्य संगठनले ६० वर्षमाथिका र दीर्घरोगी उच्च जोखिममा रहने बताए पनि कोभिड–१९ विरुद्धको लडाइँमा अहिलेसम्म युवा पुस्ता पनि ‘आत्मसमर्पण’ गर्न बाध्य छ । सरकारको ‘लकडाउन’मा उनीहरू पनि ‘बन्धक’ बनेका छन् । त्यसैले ‘लकडाउन’को समयमा घरमै बसेर उनीहरू कोभिड–१९ विरुद्धको सचेतनामा लागिरहेका छन् ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले ११ देखि १८ चैतसम्म सिंगै मुलुकलाई ‘लकडाउन’ गरेपछि राजनीतिक दलका युवा नेता तथा युवा सांसदहरू पनि बन्धकजस्तै बनेका छन् । गणतन्त्र प्राप्तिको आन्दोलनदेखि महाभूकम्पसम्मका घटनाक्रममा सडकको मोर्चामा होस् या अन्य गतिविधिमार्फत अग्रभागमा देखिने युवा नेताहरू कोरोना भाइरस संक्रमणको त्रासका कारण निवासमै ‘बन्धक’जस्तै बनेका हुन् ।

उमेरका हिसाबले पनि शीर्ष नेताहरूमा संक्रमणको बढी जोखिम रहे पनि कम जोखिममा रहेका युवा नेताहरूले संगठित रूपमा ‘सचेतना अभियान’को नेतृत्व गर्न सकेका छैनन् । विगतमा युवा नेताहरूबीच संसद्देखि सडकसम्मका विभिन्न मोर्चामा सहकार्यसमेत हुने गरेकोमा उनीहरूबीच कोरोना भाइरसको सम्भावित संक्रमण र जोखिमको सामना गर्ने उपायबारे छलफलसमेत हुन सकेको छैन । सामाजिक सञ्जालमार्फत सचेतनाको सम्प्रेषण गर्नेबाहेक प्रायःजसो नेताहरू ‘लक डाउन’को अवधिलाई परिवारलाई समय दिने, टेलिफिल्म र फिल्म हेर्ने, लेख्ने, पढ्ने काममै बिताउने योजनामा देखिएका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पार्टी प्रवक्ताको हैसियतमा देशभरका घटनाक्रमबारे अपडेट हुनेदेखि कोरोनाविरुद्ध सामाजिक सञ्जालमार्फत सचेतना अभियान चलाउने काममा सक्रिय छन् । शर्माले यसबीचमै कोरोनाको विपत्तिमा सचेत रहन आग्रह गरिएको जागरण गीतसमेत रेकर्ड गराएर बजारमा ल्याइसकेका छन् । ‘त्यही गीतलाई जनमानसमा पुर्‍याउने उद्देश्यले संवाद गरिरहेको छु, समाचार पढ्ने, सामाजिक सञ्जालमा कोरोना सतर्कताको सन्देश सम्प्रेषण गर्ने काममा पनि सक्रिय छु,’ शर्माले नयाँ पत्रिकासँग भने, ‘प्रवक्ताको पनि जिम्मेवारी भएकाले देशभरका घटनाको अपडेट भइरहनुपर्छ । पार्टी धारणा बाहिर ल्याउनेसहितका काममा सक्रिय छु ।’

अध्ययन र लेखनमा रुचि राख्ने नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजाल लकडाउनको अवधिलाई लेख्ने, पढ्ने र अधुरा काममा उपयोग गर्ने योजनामा छन् । ‘राजनीतिकलगायत कामले गर्दा यसअघि गर्न नसकिएका लेख्ने तथा पढ्ने काम बाँकी नै छ, यो अवधिलाई म त्यसरी नै उपयोग गर्दै छु, अरू खासै योजना बनाइएको छैन,’ रिजालले भने ।

शर्मा र रिजालभन्दा पृथक् रहेर नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरे भने फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेर्न व्यस्त छन् । ‘लकडाउनको घोषणा भएको दिनदेखि टेलिभिजनमा महाभारत हेर्न सुरु गरेको छु, यसपछि पढ्ने लेख्ने, जरुरी परेमा विपत्तिमा साथ दिने योजना बनाउने हो कि भन्ने सोचमा छु,’ गैरेले नयाँ पत्रिकासँग भने, ‘लकडाउन घोषणा भएको समयमा सरकारका योजनाबाहिर गएर टिम बनेर बाहिर निस्किएर कुनै काम गर्ने कुराले शोभा दिँदैन र सान्दर्भिक पनि हुन्न होला भन्ने लागेको छ, बरु यो वेला आफू पनि संक्रमणबाट बच्ने र अरूलाई पनि त्यसअनुसार काम गर्न लगाउने कुराले नै सरकारलाई सहयोग पुग्छ भन्ने लागेको छ ।’

कांग्रेस नेता प्रदीप पौडेल भने कोरोनाविरुद्धको सचेतनाका लागि सामाजिक सञ्जालमा सक्रिय छन् । ‘अहिले घरबाहिर निस्कने अवस्था छैन । सामाजिक सञ्जाल हेर्ने, सचेतनाका लागि लेख्ने, साथीहरू के गर्दै छन् बुझ्ने, जानेको कुरा साथीहरूलाई सेयर गरिरहेको छु,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘हाम्रा धेरै स्वास्थ्यकर्मी र डाक्टर कोरोनाको संक्रमणविरुद्ध स्वयंसेवी भएर काम गर्न तयार हुनुहुन्छ । उहाँहरूलाई राज्यले सुरक्षाको वातावरण बनाइदिनुपर्छ । लकडाउनको यो वेला सामाजिक सञ्जालमा दिनको तीनदेखि चारवटा कोरोनाबाट कसरी सुरक्षित हुने भन्ने सन्देश सम्प्रेषण गरिरहेको छु ।’ साथै उनले लकडाउनको वेला पुस्तक पढेर पनि समय बिताइरहेका छन् ।

पौडेलजस्तै नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने अध्ययनमै एक साता बिताउने योजनामा छन् । यद्यपि, उनले यो मौकामा परिवारलाई पर्याप्त समय दिएर उनीहरूलाई खुसी राख्ने पनि बताए । ‘दुईजना बच्चा छन्, उनीहरूलाई समय दिन्छु । तत्कालका लागि बाहिरी भेटघाट बन्द गरेको छु, पढ्ने किताबहरूको लिस्ट बनाएको छु, पढेरै दिन बिताउनेछु,’ न्यौपानेले भने ।

केही युवा नेता लकडाउनमा घरमै बसेर पनि सरकारको नीति र निर्णयमा सहयोग पुगिरहेको बुझाइमा छन् । यस्तै, बुझाइमा रहेकी कांग्रेस नेतृ कमला पन्त भने फुर्सदमा मोबाइल टेलिफोन उपयोग गर्दै सचेतनाका लागि संवाद र ‘म्यासेज’ पठाउने काममा लागेकी छिन् । ‘सरकारको घोषणापछि लकडाउनले गर्दा घरमा बस्नुको विकल्प रहेन । घरबाटै कोरोनाको सम्भावित संक्रमणबाट बच्न कार्यकर्तालाई, साथीहरूलाई सन्देश पठाइरहेकी छु,’ पन्तले भनिन्, ‘अहिले जनमानसलाई भ्रमभन्दा सही सूचनाको खाँचो छ । तसर्थ सचेत रहन आग्रह गर्दै सही सूचना सामाजिक सञ्जाल र फोनमार्फत दिन सक्दा धेरैलाई सजग गराउन सकिएला कि भनेर लागिरहेकी छु ।’

त्यस्तै, राजपाका महासचिव केशव झा पनि नियमित रूपमा सूचनामा अपडेट हुने र किताब पढ्नेबाहेक कुनै थप योजनामा देखिँदैनन् । ‘बाहिर निस्कने कुनै सोच छैन । कोठामै बसेर पार्टी र बाहिरका साथीहरूसँग सम्पर्क गर्दै सबैतिर लकडाउन सफल बनाउन आग्रह गरिरहेको छु,’ झाले भने, ‘घरमा बस्दा बचेको अन्य समयमा किताबहरू पढने पनि गर्छु र बाहिरी संसारमा के भइरहेको छ, त्यो पनि हेरेर अपडेट हुने गरेको छु ।’

यद्यपि, पार्टी र संसद्को दोहोरो जिम्मेवारीमा रहेका केही युवा नेता भने निर्वाचन क्षेत्रप्रति पनि जवाफदेही हुनुपर्ने बाध्यतामा छन् । त्यस्तै, जिम्मेवारीमा रहेकी नेकपाकी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभाकी कान्छी सांसद रचना खड्का निर्वाचन क्षेत्र र सरकारबीच टेलिफोनमार्फत पुलको काम गर्नेबाहेक परिवारलाई नै समय दिने योजनामा छिन् । ‘म दोलखाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्छु, निर्वाचन क्षेत्रमा धेरै मान्छे विदेश र काठमाडौंबाट फर्किएका छन्, संक्रमणको जोखिम पनि छ, थुप्रै समस्याका कुरा पनि आइरहने भएकाले जनतासँग नियमित सम्पर्कमा रहेर सरकारलाई पनि घचघच्याउने काम गरिरहेकी छु,’ खड्काले भनिन्, ‘राजनीतिमा बढी समय दिँदा एक वर्षको बच्चालाई भनेजति समय दिन पाएकी थिइनँ, यो अवधिमा उनीसँगै बिताउँछु ।’

समाजवादी पार्टीका महासचिव गंगा श्रेष्ठ कोरोनाविरुद्धको सचेतना अभियान चलाउने बेग्लै योजनामा छैनन् । ‘लकडाउनकै वेला दुईवटा किताब पढ्छु, फिल्म हेर्छु, बाहिरका सबै भेटघाट बन्द गरेको छु,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने ।

नेकपाका युवा नेता अजम्बर राई काङमाङ भने घर सफाइदेखि पुराना साथीहरूसँग भेटघाट गरेर विगतलाई स्मरण गर्ने योजनामा छन् । ‘छानेर राखिएका लेख पढ्छु, पारिवारिक योजना बनाएको छु, त्यसमा लाग्छु, घर सफाइ गरेर कोठाहरू सजावट गर्छु’ काङमाङले भने, ‘लिस्टमा रहेका पुस्तक पढ्छु, राजनीतिक क्षेत्रबाहेकका पुराना साथीहरूसँग भेटेर समय बिताउँछु ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

तत्कालीन नेविसंघ अध्यक्ष नैनसिंह महर सचेतना अभियान चलाउनेबारे कुनै योजनामा देखिँदैनन् । भर्खरै विद्यार्थी संगठनबाट बिदा भएका महर सामाजिक सञ्जाल चलाउने र पुस्तक पढ्ने काममै लकडाउनको समय व्यतीत गर्ने तयारीमा छन् । ‘बाहिर निस्कने अवस्था नभएकाले सामाजिक सञ्जालमा धेरैजसो समय बित्छ । कोरोनाको संक्रमणबाट बच्न साथीहरूलाई म्यासेज पठाउने, सामाजिक सञ्जालमार्फत आग्रह गर्ने, सुरक्षित हिसाबले बस्न साथीहरूलाई भनिरहेको छु,’ महरले भने । उनी यहीबीचमा नयाँ पुस्तक पढ्नेदेखि पुराना पुस्तक दोहोर्‍याएर पढ्ने योजनामा छन् ।

नेकपाका युवा नेता कृष्ण केसी भने लकडाउन घोषणादेखि नै कोरोनाको संक्रमण र रोकथामका सन्दर्भमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग नियमित सम्पर्क र छलफलमा छन् । ‘यस्तो विपत्तिका वेला हामीजस्ताले किताब मात्र पढेर समय बिताउने होइन, त्यसैले सम्बन्धित क्षेत्रका विज्ञ र जानकारसँग हरेक दिन केही न केही छलफल गरिरहेको छु,’ केसीले भने, ‘विश्वमा संक्रमणको अवस्था, त्यसले नेपालमा पार्न सक्ने प्रभाव, दीर्घकालीन निदानका उपायलगायत विभिन्न आयामका सन्दर्भमा नियमितजस्तै छलफल गरिरहेको छु, त्यसले नयाँ भिजन बन्न सक्ने र सरकार–संसद्लाई सुझाब दिन पनि सहज हुन्छ भन्ने लागेको छ ।’

नेविसंघका पूर्वअध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङ पनि फुर्सदको समय पुस्तक अध्ययन र सामाजिक सञ्जाल चलाउनमै सीमित छन् । ‘केही पुस्तक पढिरहेको छु । यसबाहेक हाम्रै सुरक्षाका लागि सरकारले लगाएको लकडाउन सही छ र यसलाई फलो गर्दा हामी आफू र अरूलाई पनि सुरक्षित बनाउन सक्छौँ भनेर सन्देश प्रवाह गरिरहेको छु,’ गुरुङले भने, ‘कोरोनाको सम्भावित संक्रमणबाट बच्ने खालका सन्देश धेरैभन्दा धेरैमाझ पुर्‍याउन सक्दा हाम्रो समाज सुरक्षित हुन सक्छ । यसतर्फ सामाजिक सञ्जालको प्रयोग यतिखेर निकै फलदायी भइरहेको छ । त्यसैले घरबाहिर निस्कन नपाए पनि सामाजिक सञ्जालबाट सुरक्षित रहने सन्देश प्रवाहमा ध्यान दिएको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close