कोरोना : यसकारण बस्नुपर्छ सेल्फ क्वारेन्टाइनमा

काठमाडौं चैत १३ – विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने जोखिम बढेसँगै आममानिस सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति सिर्जना भएको छ । यसअघि अध्यागमन विभागले नेपाल आउने जोसुकै ९स्वदेशी र विदेशी०लाई मात्र सरकारले सेल्फ क्वारेन्टाइनमा बस्न नियम लागू गरेको थियो ।

संक्रमण तीव्र रूपमा फैलिएर उच्च मृत्युदर भएका इटालीलगायतका देशका नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन नै जारी गरिएको छ । तर, हामीकहाँ समूहमा भेला भएर नबस्न मात्र भनिएको छ । यस्तो अवस्थामा संक्रमणबाट आफूसँगै अरूलाई समेत बचाउन सेल्फ क्वारेन्टाइन राम्रो विकल्प हो ।
संक्रमित होस् वा स्वस्थ मानिस उनीहरूले स्वयंलाई अन्य व्यक्तिबाट अलग राखेर संक्रमण फैलिने सम्भावना न्यून तथा रोगको पहिचान गर्न गरिने व्यक्तिगत पहल सेल्फ क्वारेन्टाइन हो । यसमा कुनै पनि व्यक्ति आफ्नो घरभित्र वा निश्चित कोठामा तोकिएको समयसीमासम्म अलग्गै बस्नुपर्छ ।

क्वारेन्टाइनमा बसेकाले प्रयोग गरेका सामान अन्य व्यक्तिले प्रयोग गर्नुहुँदैन । त्यस्तै, आफू क्वारेन्टाइनमा रहेको सूचना दिन आवश्यक हुन्छ । क्वारेन्टाइन निश्चित समयको लागि हुने गर्छ । सामान्यतया १४ दिनभित्रमा कुनै पनि लक्षण नदेखिएमा व्यक्ति घरपरिवारसँग बस्न सक्छ ।
संक्रमण देखिएका देशबाट नेपाल आएका व्यक्ति, संक्रमितकोे नजिक वा संक्रमितसँग नजिकिएको शंका लागेका व्यक्ति र सामान्य लक्षण देखिएका व्यक्ति करिब १४ दिनसम्म छुट्टै बस्न आवश्यक छ । नयाँ पत्रिकामा खबर छ ।

निम्न विषयमा ध्यान दिने

परिवारका सदस्यहरूसँग नजिक गएर कुरा गर्नुहुँदैन । त्यस्तै, खोक्दा, हाछ्युँ गर्दा, नाकमुख छोप्नुपर्छ । आफूले प्रयोग गरेका सामान अन्य व्यक्तिलाई प्रयोग गर्न दिनुहुँदैन । सकेसम्म सबै सुविधा भएको एउटै कोठामा बस्नुपर्छ । संक्रमणको आशंका भएका व्यक्तिको रगत परीक्षणको रिपोर्ट नआउँदासम्म घरकै कोठामा मास्क लगाएर छुट्टै बस्नुपर्छ ।
लक्षण देखिनासाथ अनिवार्य मास्क लगाउने, हाछ्युँ गर्दा, खोक्दा नाकमुख छोप्ने । छोप्दा प्रयोग भएका वस्तुलाई फोहोर फ्याँक्ने बन्द भाँडोमा फाल्ने र कम्तीमा २० सेकेन्डसम्म साबुनपानीले हात धुने वा स्यानेटाइजरले सफा गर्ने । संक्रमणको लक्षण देखिएमा तत्काल अस्पताल गएर स्वास्थ्यकर्मीको सल्लाह लिने । आफैँमा आत्मबल बढाउने । लक्षणहरूसँग नआत्तिने परिवारका सदस्य, साथीभाइसँगको सम्पर्कमा रहने र आधिकारिक समाचार माध्यम पछ्याउने गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close