भरतपुर अस्पतालमा मृत्यु भएकी २६ वर्षीया उषाको स्वाब परीक्षण गरिने

चितवन । भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको स्वाब परीक्षण गरिने भएको छ । बिहीबार राति उपचारका लागि अस्पताल भर्ना भएकी युवतीको शुक्रबार बिहान मृत्यु भएपछि स्वाब परीक्षण गरिने भएको हो ।

परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई बिहीबार राति १२ बजे अस्पताल ल्याइएको अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले बताउनुभयो । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमणको आशंकाले उनको रिपोर्ट नआएसम्म शवलाई छुट्टै राखिने र उपचारमा संलग्न चिकित्सकलाई समेत क्वारेन्टाइनमा राखिने अधिकारीले जानकारी दिनुभयो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सिन्धुलीको हरिहरपुर गाउँपालिका–२ की राईलाई हेटौँडा अस्पतालले राति थप उपचारका लागि भरतपुर अस्पताल पठाएको हो । अस्पतालमा हरेक महिना विभिन्न कारणबाट ५० देखि ५५ जनाको मृत्यु हुने गरेको उहाँले जानकारी दिनुभयो । यद्यपि ज्वरोका बिरामीको उपचारका क्रममा मृत्यु भएमा स्वाब परीक्षण गर्न थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close