नयाँ बर्ष, पूर्वीय दर्शन र नेपालको धर्म संस्कृतिको वैज्ञानिक व्याख्या : डा. जगमान गुरुङ

अभिनव वर्ष वैशाख १ गतेको वैज्ञानिक विश्लेषण एवं औचित्य र यसको शास्त्रीय मान्यताका सन्दर्भमा विवेचना गर्दा सबभन्दा पहिले खगोल र भूगोलको यथार्थता बुझ्न आवश्यक छ। खगोलका ग्रह, नक्षत्र र ताराहरुको अध्ययन गर्ने विद्या खगोलशास्त्र ( Astronomy) हो। यस भूगोल माथि पर्ने खगोलका ग्रह, नक्षत्र र ताराहरुको प्रभावको अध्ययन गर्ने विद्या ज्योतिषशास्त्र ( Astrology ) हो । भूगोल माथि पर्ने खगोलका ग्रह, नक्षत्र र ताराहरुको प्रभावको तत्परिहार अथवा स्वस्ति शान्तिको उपाय बताउने विद्या धर्मशास्त्र हो। यसरी खगोलशास्त्र, ज्योतिषशास्त्र र धर्मशास्त्र एक अर्कामा अन्योन्याश्रित छन्। यही नै पूर्वीय विज्ञान (Oriental Sience) हो। यसैमा समस्त पूर्वीय सभ्यता र संस्कृति अडिएर रहिरहेको छ।

खगोल अथवा आकाशमा असंख्य ताराहरु छन्। ती ताराहरु मध्ये २८ वटा तारा महत्त्वपूर्ण छन्। ती मुख्य ताराहरुलाई नक्षत्र भनिन्छ।अघि भारतीय ज्योतिषशास्त्रमा पनि २८ वटा ताराको मान्यता थियो।कालान्तरमा अभिजितलाई नक्षत्रमण्डलमा गणना नगरिएको हुँदा अहिले भारतीय ज्योतिषशास्त्रमा २७ नक्षत्रलाई मान्यता दिएको छ तर तिब्बती ज्योतिषशास्त्र भने अहिले पनि अभिजितलाई नक्षत्रमण्डलमा गणना गरेर २८ नक्षत्र कै मान्यता छ। ती नक्षत्रहरु आ- आफ्ना समूहमा हुन्छन्।नक्षत्रको समूहलाई राशि भन्दछ। राशि बाह्रवटा हुन्छ्न् । यी नक्षत्रहरुका अतिरिक्त खगोलमा अरु पनि पिण्डहरु छन् । खगोलमा अवस्थित ती आकाशीय पिण्डहरुलाई ग्रह भन्दछ। ती ग्रहहरु प्रत्येक नक्षत्रको बाटो भएर निश्चित दिन, महिना र वर्षसम्म एउटा एउटा राशिमा बस्दछ।सूर्यले आफ्नो कक्षमा घुम्ने बाटोलाई क्रान्तिवृत्त( Orbit) भन्दछ।यी ग्रहहरुका अधिपति सूर्य हुन् । अत: ग्रहमण्डललाई सौर्यमण्डल भनिन्छ।

सौर्यमण्डलका अधिपति सूर्य एक एक महिना एउटा एउटा राशिमा बस्दछ।सूर्य एउटा राशिमा कम्तिमा २९ दिन र बढीमा ३२ दिनसम्म बस्दछ। सूर्यले एउटा राशिमा कति अंश बस्यो? त्यसलाई सूर्यको गतांश भन्दछ र सूर्यको त्यही गतांश नै गते हो।
सूर्यले एउटा राशिबाट अर्को राशिमा संक्रमण गरेको अथवा सरेको दिनलाई संक्रान्ति भन्दछ।यसरी बाह्र महिनाका बाह्रवटा संक्रान्ति हुन्छन् । यी बाह्रवटा संक्रान्ति मध्ये दुइटा अयण संक्रान्ति र दुइटा विषुवत् संक्रान्ति महत्त्वपूर्ण छन् । यस पृथ्वीमा भूगोलवेत्ता र ज्योतिर्विदहरुले तीनवटा रेखाको कल्पना गरेका छन् ।पृथ्वीको मध्य भागमा कल्पना गरिएको रेखालाई भूगोलको भाषामा भूमध्य रेखा र ज्योतिषशास्त्रको भाषामा विषुवत् रेखा ( Equator) भन्दछ।पृथ्वीको भूमध्य रेखादेखि दक्षिणपट्टिको भाग दक्षिणी गोलार्द्ध र उत्तरपट्टिको भाग उत्तरी गोलार्द्ध मानिएको छ।

भूमध्य रेखा र दक्षिणी ध्रुवको बीचमा कल्पना गरिएको रेखालाई मकर रेखा(Tropic of Capricorn) मानिएको छ।यसैगरी भूमध्य रेखा र उत्तरी ध्रुवको बीचमा कल्पना गरिएको रेखालाई कर्कट रेखा( Tropic of Cancer ) मानिएको छ।
साउन महिनामा सौर्यमण्डलका अधिपति सूर्य कर्कट राशिमा बस्दछ।त्यसकारण साउने संक्रान्तिलाई कर्कट संक्रान्ति पनि भन्दछ।साउने संक्रान्तिदेखि सूर्यको दक्षिणायण गति शुरु हुन्छ।त्यसकारण साउने संक्रान्तिदेखि पृथ्वीको दक्षिणी गोलार्द्धमा सूर्यको किरण सोझो पर्न थाल्छ र दक्षिणी गोलार्द्धमा रात छोटो र दिन लामो हुँदै जान्छ। माघ महिनामा सूर्य मकर राशिमा बस्दछ।त्यसकारण माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्दछ।माघे संक्रान्तिदेखि सूर्यको उत्तरायण गति प्रारम्भ हुन्छ।त्यसकारण माघे संक्रान्तिदेखि पृथ्वीको उत्तरी गोलार्द्धमा सूर्यको किरण सोझो पर्न थाल्छ र उत्तरी गोलार्द्धमा रात छोटो र दिन लामो हुँदै जान्छ। यसरी सूर्यको उत्तरायण र दक्षिणायण गति प्रारम्भ हुने हुँदा माघे संक्रान्ति र साउने संक्रान्तिलाई अयण संक्रान्ति भन्दछ।

कात्तिक महिनामा सूर्य तुला राशिमा बस्दछ।अत: कात्तिक संक्रान्तिलाई तुला संक्रान्ति पनि भनिन्छ।तुला अथवा कात्तिक संक्रान्तिदेखि सूर्यले विषुवत् रेखा पार गरेर पृथ्वीको दक्षिणी गोलार्द्धमा प्रवेश गर्दछ। ग्रहहरुका आ- आफ्ना स्वराशि , मित्रराशि , शत्रुराशि , नीचो राशि र उच्च राशि हुन्छन् ।तुला राशि सूर्यको नीचो राशि हो।यसैगरी सूर्यको दक्षिणायण गति अधोगति र उत्तरायण गति चाहिँ उर्ध्वगति हो।त्यसकारण कात्तिक महिनामा सौर्यमण्डलका अधिपति सूर्य तुला राशिमा गएर नीचो भएर बस्ने र विषुवत् रेखा पार गरेर दक्षिणी गोलार्द्धमा अधोगतिमा जान्छ।

वैशाख महिनामा सूर्य मेष राशिमा बस्दछ।अत: वौशाख संक्रान्तिलाई मेष संक्रान्ति पनि भनिन्छ।वैशाख संक्रान्तिदेखी सूर्यले विषुवत् रेखा पार गरेर पृथ्वीको उत्तरी गोलार्द्धमा प्रवेश गर्दछ।मेष राशि सूर्यको उच्चो राशि हो।सिंह राशि सूर्यको आफ्नो स्वराशि हो।वैशाख महिनामा सूर्य आफ्नो स्वराशि सिंह राशिदेखि नवौँ भाव मेष राशिमा गएर उच्चो भएर बस्दछ। वर्ष भनेको सूर्यको प्रत्यक्ष गति हो।त्यसकारण सौर्यमण्डलका अधिपति सूर्य आफ्नो स्वराशि सिंह राशिबाट नवौँ भाव मेष राशिमा उच्च भएर बस्ने र सूर्यले विषुवत् रेखा पार गरेर पृथ्वीको उत्तरी गोलार्द्धमा प्रवेशगरी उर्ध्वगति प्राप्त गर्ने शुभ दिन भएकोले वैशाख १ गतेलाई अभिनव वर्षको रुपमा मानिएको हो। अभिनव वर्ष वैशाख १ गतेको वैज्ञानिक औचित्य एवं शास्त्रीय मान्यता यही हो।त्यसकारण वौशाख १ गते अभिनव वर्ष विज्ञानसम्मत एवं शास्त्रसम्मत छ।

वैशाख १ गतेलाई अभिनव वर्षको रुपमा मान्ने परम्परा विक्रम संवत् प्रवर्तन हुनुभन्दा पहिलेदेखि नै चलेर आएको मान्यता हो।विक्रमादित्यले शकहरुलाई परास्त गरेपछि वैशाख १ गतेलाई नयाँ वर्ष मान्ने परम्परासंग जोडेर विद्वानहरुले विक्रम संवत् चलाएका मात्र हुन् । ज्यौतिषीय परम्परामा चली आएको यो श्लोकबाट उक्त कुराको पुष्टि हुन्छ, जस्तै-
विक्रमादित्य भूपेन म्लेच्छाधीशशको हत:।तत्प्रभृति बद्धोSसौ सहकालो मनीषीभि : ।

नेपालमा अघि प्राचिनकालदेखि नै वैशाख १ गतेलाई नयाँ वर्षको रुपमा मानिआएको पाइन्छ।वैशाख १ गतेलाई नयाँ वर्ष मानेतापनि वार्हस्पत्यमान अनुसारको साठी संवत्सरको आरम्भ भने चैत्रशुक्लप्रतिपदाबाट हुन्छ।चैत्रशुक्लप्रतिपदाबाट संवत्सरारम्भ हुनु चान्द्रमास अनुसारको संवत् प्रवर्तन हो।वैशाख १ गतेलाई नयाँ वर्ष मान्नु सौर्यमास अनुसारको संवत् प्रवर्तन हो। नेपालमा चैत्रकृष्णचतुर्दशिका दिन टुँडिखेलको भद्रकालीको पीठमा लिङ्गो ठड्याएर घोडेजात्रा शुभारम्भ गरिन्छ।त्यसको भोलिपल्ट औँशिको दिनमा घोडेजात्रा मनाइन्छ। चैत्रशुक्लप्रतिपदाको दिनमा काठमाण्डौका अष्टमातृकाका खटहरु असनको डबलिमा ल्याएर समागम गरेपछि घोडेजात्रा समापन हुन्छ। यसरी अष्टमातृकागणको समागम गर्नु भनेको शक्तिसंगम हो।

यसरी नयाँ वर्षको उपलक्ष्यमा घोडेजात्रा मनाएको पाइन्छ।चैत्रकृष्णचतुर्दशि पिशाचचतुर्दशि हो।यसबाट अघि पैशाचयुग अथवा पुरापाषाणयुगदेखि शस्त्रचालन गरेर घोडेजात्राको रुपमा नयाँ वर्ष मनाएको पाइन्छ। नेपालमा मनाइने बिस्केटजात्रा सौर्यमास अनुसार वैशाख १ गते मनाइने नयाँ वर्ष पर्व हो।बिस्केटको अर्थ विश्वकेतु हो।विश्वकेतु विश्वध्वज हो। भक्तपुरमा वैशाख १ गते भन्दा चार दिन अघिदेखि भैरव र भद्रकालीको रथयात्रा गरिन्छ।भैरव र भद्रकालीको रथयात्रा गरेपछि बिस्केटजात्रा शुभारम्भ हुन्छ।वैशाख १ गतेको चार दिन पछि भैरव र भद्रकालीको रथलाई कामकलाको भावनाले एक आपसमा जुधाए पछि बिस्केटजात्रा सम्पन्न हुन्छ।यो बिस्केटजात्रा विश्वविख्तात जात्रा हो।काशीका विश्वनाथ पनि बिस्केटजात्रा हेर्न नेपाल आएको भन्ने श्रुति परम्परा छ। वास्तवमा विश्व विजयका लागि , विश्वमा शान्ति स्थापनाका लागि र नयाँ विश्वको संरचनाका लागि वैशाख १ गतेको नयाँ वर्षको उपलक्ष्यमा बिस्केटजात्रा मनाइएको हो।

नेपालको सुदूर पश्चिममा वौशाख १ गते विसुपर्व मनाइन्छ। सूर्यले विषुवत् रेखा पार गरेको उपलक्ष्यमा नयाँ वर्ष मनाउन विसुपर्व मनाइएको हो।नेपालमण्डलका नेवारहरु जनैपूर्णिमामा विभिन्न अन्नका गेडागुडिहरु मिसाएर क्वाटी खान्छन् । सुदूर पश्चिममा विसुपर्वका दिन यस्तै गेडागुडी क्गान्छ्न् , जसलाई बिरुडा भनिन्छ।यसरी भक्तपुरको बिस्केटजात्रा र सुदूर पश्चिमको विसुपर्व तथा क्वांटी र बिरुडाले नेपालमा सामाजिक सद्भाव र सांस्कृतिक समन्वयलाई एक आपसमा जोडेको छ।

नेपालमा विज्ञानलाई चकित पार्ने खालका सम्पदाहरु छन् । सिरहाको सलहेस फूलवारीमा चैतको मसान्तको मध्यरातमा हरामको रुखमा सुनाखरीको मालाको आकारको फूल फुल्दछ।उक्त फूल सलहेसलाई उनका प्रेमिकाहरुले चढाएको प्रेमको उपहार मानिन्छ। सलहेस दुसाद जातिका हुन् तर उनका प्रेमिकाहरु भने राजकुमारीहरु थिए।आफ्नो प्रेमको आदर्श र मर्यादाले सलहेसलाई महाराज बनाइदिएको छ।आजका भेलाइन्टेन डे मनाउनेहरुले सलहेस महाराज र उनका प्रेमिकाहरुको प्रेमको आदर्शलाई बुझ्न सक्नुपर्छ।त्यहाँका सबै समुदायले सलहेसलाई देवता मान्दछन् ।

सुनाखरी फुलेको भोलिपल्ट वैशाख १ गते सिरहाको सलहेस फूलवारीमा ठूलो मेला लाग्दछ।यसरी सिरहा सलहेस फूलवारीमा वौशाख १ गते लाग्ने नयाँ वर्षको मेलाले नेपाली समाजमा जातीय सद्भाव र प्रेमको आदर्श र महत्त्व बढाएको छ। वौशाख १ गतेलाई जुम्लामा तागे संक्रान्तिको रुपमा मानिन्छ।त्यस अवसरमा विवाहिता महिलाहरुलाई लगाइदिन्छ। तागा लगाइदिनु महिलाहरुलाई पवित्र बनाउनु हो।यसरी नेपाली संस्कृतिमा यत्र नार्यस्तु रम्यन्ते पूज्यन्ते तत्र देवता: भन्ने भाव पाइन्छ। नयाँ वर्षको अवसरमा तीर्थस्नानको महत्त्व रहन्छ।यस दिन काठमाण्डौ, टोखाको सपनतीर्थको स्नान उपयुक्त मानिएको छ।बैतडीको ईश्वरीगङ्गा र सप्तरिको चन्द्रभागा भगवतीको मन्दिरमा वौशाख १ गते ठूलो मेला लाग्दछ।
बझाङ र डडेलधुरामा वौशाख १ गतेलाई विष्णुसंक्रान्तिको रुपमा मनाइन्छ।विषु वा विसुलाई नै विष्णुसंक्रान्तिको रुपमा मानेको बुझिन्छ।
वौशाख १ गते नयाँ वर्षको उपलक्ष्यमा तेह्रथुमको डाँडाखेतमा हलिमेलाको रुपमा पर्व मनाउँ छन् ।यसरी नेपाली चाडपर्वले हलिलाई पनि सम्मान गरेको छ। चाडपर्व, जात्रा, तीर्थव्रत, कर्म संस्कार र मेलापातले विविध समुदायको मानसिक सम्मिलन गराउँदछ।विभिन्न शारीरिक संरचना भएका, विभिन्न थरी भाषा बोल्ने, विभिन्न धर्ममा आस्था राख्ने र विभिन्न थरी रीतिथिति अपनाउने समुदाय एउटै तीर्थमा गएर स्नान गर्दछन् एउटै पर्व मनाउँछन्।

यसबाट उनीहरुका बीच सामाजिक सद्भाव बढ्दछ, धार्मिक सहिष्णुता कायम हुन्छ र सांस्कृतिक समन्वयको परिवेश फराकिलो हुन्छ।त्यसकारण विविध समुदाय बीचको आपसी सद्भाव र समन्वयको भाव नै राष्ट्र हो र त्यस सद्भाव र समन्वय प्रतिको समर्पण, प्रतिबद्धता एवं निरन्तरता चाहिँ राष्ट्रीयता हो।समस्त नेपालीहरुको स्वच्छ हृदयको मधुर स्पन्दनको संगम नै नेपाल राष्ट्रको प्राण हो।नेपालको सरल जनजीवनको प्रत्येक मुटुको ढुकढुकीले यही भाव झल्काई रहेको छ।

अभिनव वर्ष २०७७ वैशाख १ गतेले हामीलाई यस दिशातर्फ उन्मुख हुन सदज्ञान सद्बुद्धि र प्रेरणा देओस् । भगवान् तिमीमा मेरो तही प्रार्थना छ।
।।लोका: समस्ता: सुखिनो भवन्तु।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close