
– प्राज्ञ डा. जगमान गुरुङ
।।लामा शेरजङ्ग गुरुङ।।
पूर्वी लमजुङमा बाह्रथर र रागिनासको बीचमा मन्ज्याङ नाम गरेको एउटा गुरुङ गाउँ छ।मन्ज्याङमा फिब्रोँ लामा गुरुङहरुको घना बस्ती छ।मन्ज्याङका फिब्रोँ लामा गुरुङहरु धनी मानी र त्यस भेगको राजनीतिमा पनि वर्चस्व कायम गर्न सक्नेहरु छन्। मन्ज्याङका फिब्रोँ लामा गुरुङहरुमा जातले पाए अनुसार अघि देखि नै लामा विद्याको साधना रहि आएको रहेछ।चन्द्रशमशेर राणाको समयमा मन्ज्याङका शेरजङ्ग गुरुङ निकै टाठा बाठा लामा भएछन् । शेरजङ्ग गुरुङले आफ्नै घरको लामा विद्या पनि साधे छन् । आफ्नै पालामा भोटखोला गएर पनि विद्या साधेछन् ।काशीका बाला गिरीसंग पनि विद्या साधेछन् । यसरी आफ्नो घरको विद्या, भोटखोलाको विद्या र काशीको विद्याले गर्दा शेरजङ्ग गुरुङ जाज्वल्यमान् लामा भएछन् ।
विद्वानको विद्वत्ता र वीरको वीरता प्रदर्शन गर्ने ठाउँ राजदरबार हो।त्यसकारण लामा शेरजङ्ग गुरुङ काठमाण्डौ आएछन्। काठमाण्डौ आएपछि सर्वसाधारण जनता र राणाका दरबारसम्म लामा शेरजङ्ग गुरुङले आफ्नो प्रभाव पार्न सकेछन्।लामा शेरजङ गुरुङको विद्या र सिद्धिबाट प्रभावित भएर श्री ३ महाराज चन्द्रशमशेर जबराले लामा शेरजङ गुरुङलाई सुब्बाको पदवी दिएर सम्मान गरेछन्।
चन्द्रशमशेर राणाका छोरा केशरशमशेर राणा र सिंहशमशेर राणाले श्री ५ पृथ्वी वीर विक्रम शाहका छोरीहरु विवाह गरेका थिए।जनरल सिंहशमशेर राणाले शाहज्यादी रमा राज्यलक्ष्मी शाह विवाह गरेका थिए तर सिंहशमशेर राणाको छोरा जन्मन सकेको रहेनछ।लामा शेरजङ्ग गुरुङले जोखना हेरेर शाहज्यादी सरकारले आफू भन्दा तल्लो जातको महिलासंग सैनी( मितिनी) लगायो भने छोरा जन्मन्छ भनेर बिन्ति गरेछन् ।त्यसपछि यही हो मौका भनेर लामा शेरजङ्ग गुरुङले आफ्ना जेठी छोरी राधिका गुरुङसंग शाहज्यादी रमा राणाको मितिनी लगाइदिएछन्। त्यसपछि शाहज्यादी रमा राणाको कोखबाट अर्जुनशमशेर राणाको जन्म भयो।यसपछि ता झन लामा शेरजङ्ग गुरुङको ईज्जत बढ्यो।
शाहज्यादी रमा राणाका मितिनी राधिका गुरुङको विवाह गोरखा, आपुनका महावीर गुरुङसंग भयो।शाहज्यादी रमा राणाको मितिनीको नाताले जनरल सिंहशमशेर राणाको दरबार थापाथलीस्थित सिंह महलमा राधिका गुरुङ र महावीर गुरुङको आवत जावत थियो।महावीर गुरुङका पनाति गोरखा,आपुनका ईतराज गुरुङ(पूर्णे) अहिले जीवितै हुनुहुन्छ।पश्चिमी गोरखा र पूर्वी लमजुङको लेकाली भेकमा ईतराज गुरुङको निकै वर्चस्व छ।
सिह महलमा आउ जाउ हुँदा कास्की, घन्द्रुङका कप्तान जयबहादुर गुरुङसंग महावीर गुरुङको चिनजान भयो।त्यसबेला कप्तान जयबहादुर गुरुङ जनरल सिंहशमशेर राणाका हजुरिया कप्तान थिए।यी कप्तान जयबहादुर गुरुङ अघि चारहजार पर्वतका राजा कीर्तिबम मल्ललाई पाँचसय रुपैँया ऋण हालिदिन सक्ने पा गुरुङ र वीरवल गुरुङका सन्तान हुन् ।कास्की, घान्द्रुङका नेपाली काङग्रेसका युवा नेता दीपक बहादुर गुरुङ यीनै कप्तान जयबहादुर गुरुङका नाति हुन् ।
प्रसङ्ग लामा शेरजङ गुरुङको हो।चन्द्रशमशेर राणाका एउटी रानीलाई कुष्ठरोग भएछ।लामा शेरजङ गुरुङले कुष्ठरोगी रानीको कुष्ठरोग निको बनाइदिएछन् ।
लामा विद्यामा नाग कचपचियो भने कुष्ठरोग हुन्छ भन्ने मान्यता छ।त्यसकारण कुष्ठरोग निको पार्न नागको पूजा गरेर पाताल नागलोकका अधिपति वज्रपाणीको मन्त्र साधाना गर्नुपर्छ भन्ने विधान छ।लामा शेरजङ गुरुङले यसरी मन्त्र तन्त्र र जन्त्र पनि गरे होलान् तर उनले बडो वैज्ञानिक विधिले कुष्ठरोगको उपचार गरेछन् ।
चन्द्रस्गमशेर राणाको समयमा असंभवको कुरा केही थिएन।मधेशबाट ठूलो विषालु साँपलाई जालमा पारेर ल्याएछन् । अग्राखको दाउराको दर्बिलो आगो फुकेर त्यसमाथि फलामको ओदान बसालेर ओदान माथि तामाको ठूलो खँडकलोमा पानी हालेर त्यसमा जिउँदो विषालु साँप हालेछन्। खँडकलोको मुखलाई उनको काम्लोले ढाकेर वरिपरि तारले बांधेछन्। त्यसमाथि मसिनो निगालाको टाँड थाएर कुष्ठरोगी रानीलाई त्यस टाँड माथि नाङ्गै सुताएछन्। साँक्षीको रुपमा कुष्ठरोगी रानीलाई सेतो मलमलको पातलो लुगा ओडाइदिएछन्।
त्यसपछि जति जति आगो दन्कन्छ, उति उति नै साँप रिसले उफ्रदो रहेछ।जति जति साँप उफ्रन्छ, उसको मुख र जिउबाट विष साँपको त्यो विषको बाफ कुष्ठरोगी रानीको कुष्ठरोगको घाउ घाउमा गएर विषस्य विषौषधम् भन्ने विधान अनुसार त्यस विधिले उपचार गरेर लामा शेरजङ गुरुङले चन्द्रशमशेर राणाका कुष्ठरोगी रानीको कुष्ठरोग निको बनाइदिए। लामा शेरजङ गुरुङले रानीको कुष्ठरोग ता निको बनाइदिए तर दरबारमा रानी रानीको षडयन्त्रले गर्दा त्यो रानी ता त्यै लामासंग बसेको छ भनेर छुस्की लगाइदिए।त्यसपछि ता के चाहियो? राणा शासन न भयो।अनि दुनियाँ भइकन रानीको गाथ ताक्ने त्यो जाडेलाई तोपको मोहोरिमा हालेर उडाउदिनुपर्छ भनेर लामा शेरजङ्ग गुरुङलाई ज्यान सजाय तोकियो।
अनि कुष्ठरोगी रानीले यो लामाले मलाई बचायो, म यो लामासंग बसेको छैन, किन बिनाहकमा यो लामाको ज्यान लिन्छौ? बरु यो लामालाई चार भन्ज्याङ कटाइदेउ भनेर बिन्ती गरेछन् र लामा शेरजङा गुरुङलाई चार भन्ज्याङ कटाइदिए।चार भन्ज्याङ कटाइदिए पछि लामा आफ्नै थात थलो मन्ज्याङ आएर बसे।
लामा शेरजङ गुरुङले जुद्धशमशेर राणालाई यो उमेर, यो साल मितिमा राजा हुन्छ भनेर लेखिदिएका रहेछन् ।नभन्दै लामा शेरजङ गुरुङले भने कै उमेर र साल मितिमा जुद्धशमशेर राणा श्री ३ महाराज भएछन्। अनि लामाको खोजी हुन लाग्यो।लामा ता निर्वासित भएर लमजुङ, मन्ज्याङ गएर बसेको छ।जुद्धशमशेर राणाले लामालाई लिन पठाए तर लामा आएनन्।
श्री ३ महाराज जुद्धशमशेर जबराको हजूरमा उपस्थित भएको भए लामा शेरजङ्ग गुरुङले कस्तो कस्तो धन दौलत, विर्ता र मान पदवी पाउँथे होला तर लामा शेरजङ्ग गुरुङले मलाई बिनाहकमा यस्तो वात लगाउने यो राणा खलकको मुखै हेर्दिन भनेर जवाफ पठाइदिए।आफू आएनन्।
लामा न आएपछि जुद्धशमशेर राणा टुँडिखेलको खरिको रुखमा उभिएर यो चौबिस पल्टनमा शेरजङ्ग लामाको शाखा सन्तान को छ भनेर हुकूम हुँदा मन्ज्याङ कै एक जना र मन्ज्याङदेखि अलिकति माथि सल्लाबोटका दुई जना कालीबहादुर पल्टनका गुरुङ सिपाही हामी छौँ महाराज भनेर उभिए।त्यसपछि महाराज जुद्धशमशेर राणाले लौ लप्टन भइस् भनेर ती दुई जनालाई लप्टन पद दिए।अहिले पनि मन्ज्याङ र सल्लाबोटमा जुद्धशमशेर महाराजको हुकूम पर्माङ्गीबाट लप्टन भएकाहरुका सन्तान छँदैछन्।
लामा शेरजङ्ग गुरुङका पनाति उपनाम ठुँडे लामाको पालासम्म लामा शेरजङ्ग गुरुङको सन्तानमा लामा विद्या धिपि धिपि बलिरहेको थियो तर अहिले लामा शेरजङ्ग गुरुङको वंशमा यस्तो प्रभावशाली र गौरवशाली लामा विद्या लोप भएको छ।यसरी विद्या लोप हुनु, विद्या नाशिनु राम्रो होइन, यो दु:खको कुरा हो।
लामा शेरजङ्ग गुरुङले केवल लामा विद्या मात्र सिकेको भए उनी यसरी सफल हुने थिएन।आफ्नै घरको विद्या, भोटखोलाको विद्या र काशी बनारसको विद्याले गर्दा उनी जाज्वल्यमान् भएका हुन्।
नेपाल जन्मभूमि र नेपाल नै कर्मभूमि भएका, नेपाल जन्मभूमि र भारत कर्मभूमि भएका र भारत जन्मभूमि भएर नेपाल कर्मभूमि भएका तर समाजले नचिनेका र देशले बिर्सेका सिद्ध साधकहरुको जीवनीलाई संगालेर डा. स्वामी प्रपन्नाचार्यले मिल्केका झिल्का शीर्षकको पुस्तक प्रकाशित गरेर धेरै सिद्ध साधकहरुको योगदानलाई उजागर गरेर ठूलो गुण लगाउनु भएको छ।लामा शेरजङ्ग गुरुङ पनि वर्तमानले बिर्सन लागेको एक जना सिद्ध साधक हुन्। अत: मैले लामा शेरजङ्ग गुरुङको बारेमा सुने जानेका कुराहरुलाई यहाँ लिपिवद्ध गर्ने प्रयाश गरेको छु।निर्दोषी र स्वाभिमानी लामा शेरजङ्ग गुरुङ जस्ता सिद्ध साधकहरुबाट हामीले प्रेरणा लिनसक्नुपर्छ।
यश कार्यबाट लामा शेरजङ्ग गुरुङको दिवङ्गत आत्माले चिर शान्ति पाउन सकोस्। वहाँले हामीलाई सधैँ शुभ आशीर्वाद दिइरहोस् ।
म पनि क्ह्रोँगि लामा गुरुङ हुँ तर मैले लामा विद्या पढेको छैन।त्यसकारण म ढ्याङ्ग्रो ठोकेर कर्म गर्न जान्दिन। म बौद्धतन्त्र अनुसार श्रीज्ञानचतुर्वाहु महाकाल र शैवतन्त्र अनुसार दुर्गा भगवती र विद्याराज्ञी दक्षिणकालीको सेवा गर्दछु।ज्योतिषशास्त्र र तन्त्रविद्यामा लामा शेरजङ्ग गुरुङको बाटो पछ्याउँदै हिँडिरहेको छु।मेरो नियति र प्रारव्धले कहाँ पुय्राउँछ।त्यो भगवान् भरोसा हो।