राहतविहीनको वडा कार्यालयमा भीड

टीकापुर नगरपालिकावासीले आफूहरु राहत पाउनबाट वञ्चित भएको भन्दै वडा कार्यालयमा सामाजिक दूरी कायम नराखी धर्ना दिन थालेका छन् ।
नेपाल सरकारले राहत वितरणको मापदण्ड बनाई वडास्तरबाट दैनिक ज्याला मजदुरी गरी गुजारा गर्दै आएका विपन्न परिवारलाई राहत वितरणका लागि आह्वान गरेसँगै वडाले राहत वितरणमा वास्तविक पीडितभन्दा राजनीतिक पूर्वाग्रहले राहत वितरण गरेको र वास्तविक पीडितले राहत नपाएको आरोप लगाउँदै स्थानीयवासीले वडा कार्यालयमा धर्ना दिन शुरु गरेका हुन् ।
टीकापुर– १ मा सबैभन्दा बढी विवाद देखिएको छ । राहतका लागि सङ्ककलित तथ्याङ्कमा आफूहरुलाई नसमेटेको भन्दै स्थानीयवासी महिलाले दिनहुँ वडा कार्यालयमा गई धर्ना दिने गरेका छन् ।
उमेरले ७० पार गरिसकेकी लायक रानीले भन्नुभयो, ‘गरीबको हुनुहुँदो रहेनछ । सकिनसकी तीन दिनसम्म वडा कार्यालय धाएँ । सबै राहत ल्याएरै फर्के तर मलाई कसैले वास्ता नै गरेनन् ।’
वडाध्यक्ष गंगाराम आचार्यले तथ्याङ्क सङ्कलन गर्दा केही वास्तविक पीडितको नाम छुटफुट हुन गएको स्वीकार गर्दै वास्तविक पीडितले राहत पाउनुपर्ने र कुनै राजनीतिक पूर्वाग्रह नराखिने बताउनुभयो ।
वडा नं ३ की सुन्दरदेवी चौधरीले आफ्नो ६ जनाको परिवारले अटोरिक्सा चलाएर जीविकोपार्जन गर्दै आएको बताउँदै श्रीमान् पूर्णरुपमा अपाङ्गता हुँदा पनि वडाबाट राहत नपाएको गुनासो गर्नुभयो ।
वडाध्यक्ष रामसेवक महतोले वडा कार्यालयमा आएको सूचीअनुसार २१७ घरधुरीले राहत पाइसकेको र तथ्याङ्क सङ्कलनका लागि गाउँका बड्घरलाई पठाउँदा केही घर छुट्न गएको बताउँदै कसैलाई भोकै नराखिने स्पष्ट गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close