कोरोना महामारीका बेला पनि असहिष्णु व्यवसायीहरु

मोरंग समाचारदाता
यो लकडाउनका बेला इन्टरनेट र केबुलनेटवर्कले मानिसहरुलाई घरमा बस्न सहज गरिदिएको छ । अहिले घड्याप्पै यसलाई बन्द गरिदिने हो भने मान्छेहरुको टाउको विष्फोट हुनेछ । मान्छेहरु सडक, चियापसल र चौतारीहरुमा भेला भएर गफमा जोतिन थाल्नेछन् । तसर्थ इन्टरनेट र केबुलनेटवर्कले एककिशिमले मान्छेहरुलाई लकडाउन पालना गरेर घरैमा बस्न अत्याधिक मद्दत गरेको छ ।लकडाउन बढ्दै गएपछि सरकारले केही आदेश जारी गर्यो । नेपाल दूरसंचार प्राधिकरणले सरोकारवालाहरुलाई लकडाउनको अवधिभरि उपभोक्तामाझ महसूलको ताकेता नगर्न आदेश दिएको छ । तर व्यवसायीहरुले यसबीच निकै ग्राहकहरुको लाइन काटेका छन् । र, ग्राहकहरुलाई फोन गरेर महसूल तिर्न दवाव दिइरहेको पनि पाइएको छ । साथै यस्तो लकडाउनका बेला उनीहरु आफ्ना कर्मचारीहरुलाई पैसा उठाउन ग्राहकका घरघर पनि पठाइरहेका छन् । लाग्छ, उनीहरु ‘६ टी’सँग बेखबर छन् । ‘६ टी’ अर्थात, ट्राभल रेस्ट्रिक्शन, टेस्टिंग, ट्रयाकिंग, ट्रेसिंग, ट्रिटमेन्ट र टुगेदर ।

कोरोना भाइरसको यस्तो महामारीका बेला भिडभाडबाट बचेर घरैमा कहर काटिरहेका ग्राहकहरुलाई इन्टरनेट र केबुल अपरिहार्य संचार साधन हुन् । अहिले कतिपय विध्यालय र कलेजहरुले भिडियो कन्फ्रेन्स मार्फत कक्षाहरु समेत सञ्चालन गरिरहेको अवस्थामा इन्टरनेट व्यवसायीहरु केही समय सहिष्णु हुन सक्दैनन् त ? महसूल त ग्राहकहरुले जसरी पनि तिर्ने नै छन् । अहिले नतिरे पनि लकडाउन खुलेपछि त अवश्य तिर्छन् । किनभने, संचारप्रविधि उनीहरुको आवश्यकता र आदत दुवै हुनपुगेको छ । तर के व्यवसायीहरु यति दिवालिया भइसके कि यो आपतको घडीमा केही दिन पर्ख र हेरको स्थिती अपनाउन सकिँदैन ? के उनीहरुले सरकारको आदेश मान्नु पर्दैन ? सरकारले महशूल मिनाहा गर्ने आदेश त दिएको छैन । केही दिन महसूल ताकेता नगर्नू मात्रै भनेको होइन र ? के व्यापारीहरुको मानवीय संवेदना मरिसकेको हो ? कि उनीहरु लोभ र आर्थिक असुरक्षाले गाँजिएका छन् ? अर्कातिर यो बिपतको घडीमा एकथरी मानिसहरु बिपन्नलाई राहत बाँडेर एउटा जिम्मेवार नागरिकको भूमिका निभाइरहेका छन् भने अर्कातिर कतिपय मानिसहरु धमिलो पानीमा माछा मात्रै किन मारिरहेका छन् ? किन उनीहरु यो बिपतको घडीमा पनि पैसाको चश्मा उतार्दैनन् ? सरकारले त घरधनीहरुलाई पनि भाडावालसँग एक महिनाको भाडा नलिनू भन्ने आदेश जारी गरेको छ । यसका विरोध र समर्थनका आआफ्ना बूँदाहरु होलान् । तर यहाँ चर्चा गर्न खोजिएको भने सुचना प्रविधिको बारेमा मात्रै हो जसको संबन्ध सिधै मानसिक स्थितिसँग जोडिएको छ ।

उर्लावारी केबुल नेटवर्क प्रालि पनि यो मामिलामा अछूतो रहन सकेन । सोमबारसम्म उसले कैयन लाइनहरु काटिसकेको छ र कैयन ग्राहकहरुलाई महसूलको ताकेता गरिसकेको छ । कतिपय ग्राहकले महसूल बुझाएर पुनः इन्टरनेट वा केबुल सुचारु गरिसकेका छन् । कति अन्यौलमा छन् । उर्लावारी केबुल नेटवर्कले आफ्ना कर्मचारीहरुलाई महसूल उठाउन दवाव पनि दिइरहेको गुनासो भेटिएको छ । जागिर जाने डरले उनीहरुले केही ग्राहकलाई ताकेता गरे पनि लकडाउनका बेलाको अप्ठेरो वर्णन गर्नैमा ग्राहकहरु बाध्य भए । तर एक जना कर्मचारीले स्थानीय ब्यापार संघका एक पदाधिकारीलाई मौखिक जानकारी गराएपछि उर्लावारी केबुल नेटवर्कले मंगलबार बिहान केही स्थानीय संचारकर्मीको फेसबुकमार्फत एउटा सानो सूचना निकालेर भन्यो, लाइन काटिएकाहरुले निम्न नम्बरमा फोन गर्नू, एक हप्तासम्म सेवा दिइने छ ।त्यसो त उर्लावारीमा बग्रेल्ती संचारकर्मी र संचारमाध्यमहरु छन् । मेयर खड्ग फागोको गाडिमा चढेर लकडाउन उल्लंघन गर्नेहरुलाई उनले भाटा हानेको दृश्य खिचेर युट्युबमा भाइरल गराउनेहरुलाई उर्लावारी केबुल नेटवर्कको असहिष्णु व्यवहार समाचार ठहरेन । कतै कुनै जनगुनासाहरु प्रकाशित भएनन् । खोजिएनन् । लकडाउनमा पनि इन्टरनेट र केबुलको लाइन काटिएको समाचार आएन । तर मंगलबार बिहान सबेरै उर्लावारी केबुल नेटवर्कको छोटो सन्देशलाई भने केही संचारकर्मीले आफ्नो फेसबुक पेजमा स्थान दिन पुगे ।

व्यापक जनगुनासो आएका कारण केही घण्टापछि स्थानीय व्यापार संघ र उर्लावारी केबुल नेटवर्कलाई उद्रित गर्दै पूर्वी नेपाल अनलाइनमा एउटा समाचार आयो । जसमा सेवा काटिएका उपभोक्तालाई महसूल बुझाउने सात दिने म्याद दिइएको उल्लेख छ । साथै उक्त नेटवर्कका निर्देशक निर्मल रिजालले महसूल उठाउन आफ्ना कर्मचारीलाई उपभोक्ताका घरघरमा पठाउने कुरा पनि बताएका छन् । स्मरण रहोस्, सरकारले लकडाउन अवधिभरि महसूल नलिन सरोकारवालाहरुलाई आदेश दिएको छ र लकडाउनपश्चात महसूल बुझाउँदा पनि बिलम्ब शुल्क नलिन निर्देशन दिएको छ । यहाँ प्रश्न उठ्छ, जनताले सरकारको नियम मान्ने कि व्यवसायीहरुको ? व्यवसायीहरुले जे गरे पनि हुन्छ ? यो कोरोना महामारीका बेला उर्लावारी केबुल नेटवर्कका कर्मचारीहरु महसूल उठाउन उपभोक्ताका घरघर जानुलाई कसरी लिने ? सामाजिक दूरी भनेको के हो ? लकडाउन वा बन्दाबन्दी भनेको के हो ? महामारी भनेको के हो ? कुन सुरक्षासंयन्त्रका साथ निर्देशक रिजालले आफ्ना कर्मचारीहरुलाई वर्तमान स्थितिमा उपभोक्ताहरुका घरघरमा पुर्याउने व्ययवस्था मिलाएका छन् ? केवलको महसूल नउठाउँदा उनको व्यवसाय धराशायी हुने अवस्थामा छ ? त्यसो हो भने उनी सरकारसँग किन राहत माग्दैनन् ?


के यी व्यवसायीहरु यो महामारीका बेला यसरी सात दिने भाखा तोक्न स्वतन्त्र छन् ? सरकारको आदेश उनीहरुले पालना गर्नु पर्दैन ? के केही स्थानीय संचारकर्मीहरुलाई मोहमा पारेर उनीहरु यसरी गैह्रजिम्मेवार र अराजक बन्न मिल्छ ? के स्थानीय व्यापार संघले सरकारको नियम वा आदेश वा निर्देशनलाई मिचेर साहूकार पारामा यस्तो बिपतका बेला मनमानी नियम बनाएर जनतालाई त्रसित तुल्याउन र तनावमा पार्न मिल्छ ? एकातिर लाखौँ नागरिकहरु सडकमा बिचल्ली अवस्थामा छन् । उनीहरुका गरीखाने हड्डीहरु भाँचिएका पनि छन् । अर्कातिर व्यवसायीहरु कानून मिचेर घरघर पैसा उठाउन जाने कुरा गर्छन् । मानवीय संवेदना सकिएका यस्ता देशवासीहरुबाट कसले के अपेक्षा राख्ने ? र किन ? अनि मुलुकभर छरिएर रहेका यस्तै व्यवसायीहरु अनेक प्लेटफार्मको दुरुपयोग गरेर कि सरकारको चाकडी बजाउँछन् या त सामाजिक सञ्जाल वा चिया पसल वा भट्टीहरुमा सरकारको विरोध गर्छन् र अनेक ट्याक्टिस लगाएर कर छल्छन् ।
बलेको आगो वरिपरि भुन्भुनाइरहेका स्थानीय संचारकर्मीहरुलाई जनगुनासो सुन्ने वा खोज्ने फुर्सद नहुनु र महत्वपूर्ण समाचारहरु ओझेलमा पर्नु वा दबाइनु निश्चय नै दुःखको कुरो हो ।

उर्लावारी केबुल नेटवर्कको यस किशिमको गैह्रजिम्मेवारपूर्ण व्यवहारले मुख्यरुपमा उनीहरुलाई नै घाटा छ । अर्कातिर सरकारको आदेश नमान्नुले उनीहरुको वैष्य अराजकता र मनोमानी उदांगो पनि हुनपुगेको छ । के उनीहरुको व्यापार व्यवसाय गर्ने तरिका यस्तै हो ? राज्यको नियम पालना नगर्ने ? महामारीका बेला अरुबेला जस्तै राज्यलाई ठग्ने काम भइरहेको छैन भनेर कसरी पत्याउने ? राजधानीमा एउटा ब्यापारीलाई कालोबजारीको आरोपमा गिरफ्तार गरेर जनताको ध्यान त्यता मोडी अरु स्थानका टड्कारा समस्याहरुलाई अन्देखा गर्ने छुट राज्यलाई कतइ छैन । सरकारको काममा बाधा दिने जो कोहीलाई पनि यसबेला पहिचानमा लिएर राज्यले उचित कार्वाही गर्न सकेमात्रै जनताको अभिमत जित्ने कुरामा दुइमत छैन ।
उर्लावारी केबुल नेटवर्क जस्ता अरु कति इन्टरनेट र केबुल प्रदायक संस्थाहरुले हाल यस्तै गैह्रसामाजिक कार्यहरु गरिरहेका होलान् ? अनि कति ग्राहकहरु अहिले सूचनाप्रविधिको राहत खोजिरहेका होलान् ?

तपाईंको इन्टरनेट वा केबुलको लाइन काटिएको भए सेवा प्रदायक कम्पनीको नाम सहित तल कमेन्ट गर्नुहोस् । हामी संबन्धित निकायमा तपाईंको गुनासोलाई अवश्य पुर्याउने छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close