अप्रेसन गर्नै लाग्दा उदयपुरको बिरामी भन्ने थाहा पाएपछि सरकारीमा रेफर

विराटनगर, २२ वैशाख । प्रसूति बेथाले च्यापेपछि उदयपुर गाईघाट–११ की २९ वर्षीया सरस्वती रौनियारलाई गत मंगलबार विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरियो। शल्यक्रियाका लागि भोलिपल्ट बिहान अप्रेसन थिएटरमा लगियो। शल्यक्रिया प्रक्रियासमेत सुरु भयो। डाक्टरले रगतको व्यवस्था गर्न लगाए। तर, नोबेलले अपर्झट उनको शल्यक्रिया रद्द गरी कोसी अस्पताल रेफर गर्‍यो। ‘उदयपुर ठेगाना भएका कारण रेफर गर्नुपरेको’ नोबेलको पुर्जीमा खुलाइएको छ।

डाक्टरले अप्रेसन थिएटरबाट निकालेपछि अर्को अस्पताल लैजानुपरेको सरस्वतीका श्रीमान् प्रकाशले सुनाए। सरस्वतीले कोसीमा अप्रेसनमार्फत दोस्रो सन्तान छोरो जन्माइन्। शल्यक्रिया गर्ने टोलीका डा। जीवन धमलाले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिए।

नोबेलका जनसम्पर्क अधिकृत नारायण दाहालले भने प्रसूति गराउनुपर्ने महिलामा ज्वरो देखिएपछि रेफर गरिएको दाबी गरे। डा। धमलाले भने ज्वरो नदेखिएको खुलाए। रेफर पुर्जीमा पनि ज्वरो रहेको खुलाइएको छैन। यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close