कोरोनाले मृत्यु भएको आशंका गर्दै जब गाउँलेले शव उठाउन दिएनन्…

झापा, असार २- झापाको मेचीनगर नगरपालिका-११ मा मिर्गौला खराब भएर मृत्यु भएका एक वृद्धको शव ६ घण्टा घरमै राखिएको छ। गाउँलेको अवरोधको कारण छ घण्टापछि शव मात्र शव दाहसंस्कार गरिएको हो। गाउँलेले कोरोनाका कारण मृत्यु भएको आशंका गर्दै शव दाहसंस्कार गर्न घाट लैजानबाट रोकेका थिए। घटनाबारे जानकारी पाउनेबित्तिकै मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले नगरको स्वास्थ्य शाखालाई शवको अवस्थाबारे बुझ्न र व्यवस्थापन गर्न निर्देशन दिएका थिए।

नगरको स्वास्थ्यकर्मीको टोली मृतकको घर पुगेर अस्पताल रिपोर्ट जाँच गर्दा दुवै मिर्गौला खराब भएर मृत्यु भएको पुष्टि गरेपछि मात्र गाउँलेले घरबाट उनको शव उठाउन दिएका थिए।

मृतक एक हप्ताअघि मात्र उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना भएका थिए । उनलाई अस्पतालले शुक्रबार घर फर्काएको थियो । उनको सोमबार बिहान ८ बजे घरमै मृत्यु भएको थियो।

‘नोबेल अस्पतालको रिपोर्ट हेर्दा कोरोना भएको देखिँदैन’, नगर स्वास्थ्य शाखा प्रमुख शशिकला राईले भने, ‘दुवै मिर्गौला खराब भएको रहेछ । गाउँलेलाई सबै कुरा बताएपछि मात्र अन्त्येष्टि गर्न दिए।’ पालिकाले चार जना गाउँलेलाई पिपिइ, पञ्जा र मास्क दिएपछि शव उठाएर दाहसंस्कार गरिएको थियो।

मृतक भारतीय सेनाबाट निवृत्त भएका हुन्। उनी बन्दाबन्दीअघि पेन्सन थाप्न भारतको बागडुग्रास्थित हात्तीसारको पेन्सन अफिसमा गएका थिए।बन्दाबन्दी भएसँगै भारतमै छोरीज्वाइँको घरमा बसेका उनलाई बिरामी भएपछि एक हप्ताअघि मात्र पूर्वीनाका काँकडभिट्टा हुँदै एम्बुलेन्सबाट बिर्तामोडस्थित मनमोहन अस्पताल ल्याइएको थियो । मनमोहनले उपचार गर्न नसक्ने बताएपछि उनलाई उपचारका लागि नोबेल अस्पताल लगिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close