विदेश जाँदा पनि ऋण, फर्किँदा पनि ऋण !

काठमाडौं । ४ असारको साँझ हिमालय एयरबाट काठमाडौं ओर्लिएका सल्यानका निर्मल बुढामगर मलेसियामा सामान प्याकिङको काम गर्थे ।तीन महिनाअघि सम्झौता अवधि सकिएपछि उनी घर फर्किने तयारीमा थिए ।तर, कोरोना महामारीका कारण त्यहीवेला अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि उतै थुनिए, ९२ दिन बेरोजगार बसेर स्वदेश फर्किए ।निर्मलले तीन महिना साथीको कोठामा शरण लिएर बिताए । ‘बेरोजगार थिएँ, आयस्रोत केही थिएन । कतिदिन त भोकै, प्यासै भएर बसियो, केही समय साथीको कोठामा शरण लिइयो,’ उनले सुनाए ।स्वदेश फर्किन पनि उनले दोब्बरभन्दा बढी हवाई भाडा तिर्नुपर्‍यो ।

करिब २० हजार लाग्ने भाडाको उनले ४५ हजार ६ सय ३२ रुपैयाँ तिरे । ‘पैसा थिएन, साथीहरूसँग ऋण मागेर टिकटको जोहो गरेर फर्किएँ,’ निर्मलले भने । रोजगारीका लागि मलेसिया जाँदा पनि गाउँमा ऋण काढेर गएको उनले सुनाए ।मलेसियामा रहेका एक सय ५८ नेपाली मजदुर ४ असारमा हिमालय एयरलाइन्सबाट स्वदेश फर्किएका छन् ।सबैको पीडा उस्ताउस्तै छ । अधिकांश रोजगारी गुमाएका, भिसा र सम्झौता अवधि सकिएर बेरोजगार थिए । प्रायः सबै ऋण खोजेर वैदेशिक रोजगारीमा गएका थिए, अहिले फर्किंदा पनि थाप्लोमा ऋण थपिएको छ । तिनैमध्येका अर्का युवा हुन् कैलालीका सुनील चौधरी ।

काम गर्ने कम्पनीसँगको सम्झौता अवधि सकिएर उनी तीन महिनादेखि बेरोजगार थिए, त्यसैले घर फर्किदा पनि ऋण गरेर जहाजको टिकट काट्नुपर्‍यो । ‘विदेश जाँदा पनि ऋण, आउँदा पनि ऋण,’ उनले भने ।काठमाडौंका गोविन्द रेग्मी माल्दिभ्समा इन्जिनियरिङको काम गर्थे । कोरोना महामारी बढ्दै गएपछि उनको काम बन्द भयो, तीन महिना बेरोजगार बसे । आर्थिक संकट बढ्दै गएपछि माल्दिभ्स सरकारले आप्रवासी कामदारलाई आ–आफ्नो देश फर्किन अनुरोध गर्‍यो ।‘त्यहाँको सरकारले स्वदेश फर्किन चाहनेहरू जाऊ भन्यो,’ गोविन्दले भने । माल्दिभ्समा नेपाली दूतावास नभएकाले श्रीलंकास्थित दूतावाससँग समन्वय गरेर नेपाली कामदारले स्वदेश फर्किने चाहना देखाए ।तर, दूतावासले कोरोना संक्रमण नभएको स्वास्थ्य रिपोर्ट ल्याएपछि मात्रै फर्काउन सकिने बतायो ।

स–साना टापुहरूको देश माल्दिभ्समा आप्रवासी कामदारले एक टापुबाट अर्कोमा जान पनि सरकारको अनुमति लिनुपर्छ । त्यसैले उनीहरूले स्वास्थ्य परीक्षणको रिपोर्ट पेस गर्न सक्ने अवस्था थिएन ।दूतावासँगको हारगुहारपछि माल्दिभ्समा रहेका नेपाली कामदार आफ्नै खर्चमा घर फर्कन पाउने भए । तर, हवाई भाडा भने झन्डै दोब्बर तिर्नुपर्ने भयो ।‘अरू वेला करिब ४० हजार नेपाली रुपैयाँ लाग्थ्यो भाडा । तर, अहिले करिब ५९ हजार रुपैयाँ ति¥यौँ,’ गोविन्दले भने ।तीन महिनासम्म बेतलबी बसेका उनले जहाजको भाडा तिर्न पनि नेपालबाट पैसा मगाए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close