
मुम्बई डाक्टर शैलेष कोलानुले निर्देशनमा तेलुगु चलचित्र ‘हिट’ को बलिउडमा रिमेक बन्ने भएको छ । उक्त चलचित्रको रिमेक भर्सनमा अभिनेता राजकुमार रावले अभिनय गर्ने निश्चित भएको छ । यो एक प्रहरीको कथामा आधारित थ्रिलर चलचित्र हो । जसमा एकजना हराएकी महिलाको खोजीमा दौडिएको प्रहरीको कथालाई उधिनिएको छ ।
जुन चलचित्रमा प्रहरीको विगत र वर्तमानको कथालाई उतारिएको छ ।अभिनेता राजकुमारलाई चलचित्रमा लिएको विषयमा निर्देशक शैलेषले भारतीय मिडियासँग भनेका छन्, ‘यो एक प्रहरी अफिसर्सको कथा हो, जहाँ उ आफ्नो विगत र वर्तमानसँग लडिरहेको छ । यो एक समस्यामा परेको व्यक्तिको कथा हो ।’
उनले चलचित्रका लागि आफूले एक जना परिपक्व मान्छेको खोजी रहेको र त्यो राजकुमार भेटेको सुनाए । उनले भने, ‘यस्तो व्यक्तिको अनुहार खोज्दै थिएँ, जहाँ उसले आफ्नो अँध्यारो जीवनलाई प्रस्तुत गर्नेछ साथै दर्शकको नजरमा उ एक परिपक्व मानिस पनि हो । यो भूमिकामा मैले राजकुमारलाई देखेँ ।’
यस चलचित्रमा काम गर्न पाउँदा आफू पनि उत्साहित भएको राजकुमारले विचार व्यक्त गरे । उनले चलचित्र ‘हिट’ हेरिसकेपछि यो चलचित्रको कथालाई लिएर आफू निकै उत्साहित भएको भारतीय मिडियालाई बताएका छन् । सौय दैनिकमा खबर छ । अभिनेता राजकुमारले भने, ‘एकजना कलाकार भएकाले पर्दामा म सधै नै नयाँ भूमिका खोज्छु । हिट यस्तै एक कथामा बन्न लागेको चलचित्र हो ।’