१२० दिन लामो बन्दाबन्दी खुलेपछि ओलीलाई काँग्रेसले दियो यस्तो सुझाव

काठमाडौँ, साउन ९। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १२० दिन लामो बन्दाबन्दी खुलेपछि बिहिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर कोरोना भाइरस सङ्क्रमण र बाढी पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराएका छन् ।

बन्दाबन्दीका बावजुद सङ्क्रमितको सङ्ख्या २० हजार पुग्न लागेको र तीन दर्जनभन्दा बढीको मृत्यु भएको स्थितिमा बन्दाबन्दी खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सभापति देउवाले आग्रह र माग गर्नुभएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सभापति देउवाले कोरोना परीक्षण पीसीआर प्रविधिबाट मात्रै गर्न आग्रह गर्दै, क्वारेन्टिनहरू अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएको भन्दै आपत्ति प्रकट गरेका थिए । गोरखापत्र दैनिकमा खबर छ ।

सभापति देउवाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तीव्रता दिन र बाढी तथा पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंँको मृत्यु, कयौँ बेपत्ता र सयौँ घरबारविहीन भएको हुँदा युद्धस्तरमा कार्य गर्न सरकारलाई आग्रहगरेका थिए ।

कोरोना सिर्जित चुनौतीका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनले अघि सारेका जायज मागलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका मुख्य सचिव पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close