वीरगञ्जमा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि : कारागार सिल गरियो

काठमाडौ, साउन १६ । वीरगञ्ज कारागारमा एक महिलासहित आठ जनामा कोरोना सङ्क्रमण भेटिएपछि कारागार सिल गरिएको कारागार प्रमुख (जेलर) श्रवणकुमार पोखरेलले बताउनुभयो । सङ्क्रमित कैदीबन्दीलाई कारागारको हाताभित्र स्थापना गरिएको आइसोलेशन कक्ष (उपचार केन्द्र)मा तथा कर्मचारीलाई समता स्कुलमा स्थापना गरिएको आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।

एक जना महिला कैदीबन्दीलाई उनकै कोठामा आइसोलेशन बनाएर उपचार भइरहेको जनाइएको छ । अहिले कारागारभित्र प्रशासनिक काम बाहेक सबै काम बन्द रहेको छ । कारागारभित्र कोरोनाको उच्च जोखिम बढेपछि कैदीबन्दीहरुको सम्पर्कमा आएको उनका आफन्तको स्वाब परीक्षण गर्न उनीहरुको खोजी भइरहेको कारागार प्रशासनले जनाएको छ ।

हाल कारागारमा महिला पुरुष तथा आश्रित बालबालिका गरी एक हजार २१४ कैदीबन्दी छन् । ती कैदीबन्दीलाई अहिले अदालतमा उपस्थित गराउने काम बन्द रहेको जनाइएको छ । कारागारमा सबैभन्दा बढी भारतीय कैदीबन्दी भएकाले भारतीय कैदीबन्दीलाई भेट्न आउँदा कोरोना सङ्क्रमण सर्न सक्ने आशङ्का कारागार प्रशासनले गरेको छ ।

कारागारमा भारतीय कैदीबन्दी बढी रहेको र भारततर्फ कोरोना सङ्क्रमण बढी देखिएकाले कारागार अहिले कोभिड–१९ को उच्च जोखिममा रहेको छ । यसलाई दृष्टिगत गरेर कैदीबन्दीको आफन्तले ल्याउने कोसेली कारागारका कर्मचारीले पु¥याउने काम बन्द गरिएको छ ।कारागारमा कोरोना सङ्क्रमित भेटिएपछि अन्य कैदीबन्दीलाई सङ्क्रमण नपरोस् भनेर कारागार प्रशासनले कारागार सिल तथा भेटघाट बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close