सौराहाका होटल खुलेसँगै पर्यटक आउन थाले, चहलपहल शुरु

चितवन, साउन १६ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल बिहीबारबाट खुलेसँगै चहलपहल शुरु भएको छ । होटलमा पर्यटक आउन शुरु गरेका छन् भने रेष्टुरेण्टमा ग्राहक देखिन थालेका छन् ।

जङ्गल वाइल्डलाइफ क्याम्पका सञ्चालक नारायण भट्टरार्ईले होटल खुलेकै दिन दुई विदेशी पर्यटक आएको बताउनुभयो । होटलको सरसफाइ, मर्मत सम्भारसँगै उच्च सावधानीका साथ पाहुनाको स्वागतमा व्यवसायी जुटेको क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष रहनुभएका भट्टरार्ईले जानकारी दिए ।

जङ्गल सफारी लजमा पनि आज तीन वटा कोठा बुकिङ भएको सञ्चालक सुमन घिमिरेले बताउनुभयो । सङ्घका निवर्तमान अध्यक्ष घिमिरेले होटल खुलेसँगै बिहीबारबाट चहलपहल बढेको बताउनुभयो । स्थानीय र आसपासका क्षेत्रबाट चार महिनापछि खुलेको सौराहा हेर्न मानिस आएको उहाँले जानकारी दिनुभयो । सौराहामा ११० होटल सञ्चालनमा छन् ।

घिमिरेले भन्नुभयो, “यो सिजन नभए पनि लामो समयपछि होटल खुल्दा व्यवसायी आशावादी भएका छन् ।” होटललाई पूर्ववत् अवस्थामा फर्काउन सस्तो र आकर्षक प्याकेज बनाउन साझारूपमा र एकल व्यवसायी जुटिरहेको उनले जानकारी दिए । सङ्घका अध्यक्ष दीपक भट्टरार्ईले स्थानीय कर्मचारीलाई बोलाएर होटल सञ्चालन गरिएको बताए । पच्चीस प्रतिशत हाराहारी कर्मचारीले होटल शुरु गरेको उनले जानकारी दिए ।

क्रमशः पर्यटक बढ्दै गएपछि कर्मचारी थप गर्दै लैजाने तयारी गरिएको छ । सौराहामा होटलमा प्रत्यक्षरूपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् । लकडाउनसँगै अधिकांश कामदारलाई होटलले छुट्टी दिएका थिए । होटल तथा रेष्टुरेण्ट खुलेसँगै व्यवसायीले आफ्ना कामदारलाई बोलाएर नियमित काममा लगाउन थालेका हुन् । सरकारले यही साउन १५ गतेदेखि देशभरका होटल तथा रेष्टुरेण्ट विशेष सावधानी अपनाएर खोल्ने निर्णय गरेसँगै सौराहाका होटल खुलेका हुन् । होटलले कोभिड–१९ बाट बच्न आवश्यक सूचना टाँस गर्ने, पर्यटकको ज्वरो जाँच, हात धुने र स्यानिटाइजरको व्यवस्था गरेको भट्टराईले जानकारी दिए ।

दशैँ र दशैँपछि हुने पर्यटकीय गतिविधिलाई लक्षित गरी अहिलेबाट तयारी थालिएको छ । हवाई र सडक यातायातमा लागेको प्रतिबन्ध तथा एक जिल्लाबाट अर्को जिल्ला जान पास चाहिने विद्यमान अवस्थाका कारण तत्कालै पर्यटक बढ्ने आशा व्यवसायीले गरेका छैनन् । गत वर्ष पनि यो पर्यटकीय मौसम नभएकाले न्यून पर्यटक मात्र आउने गर्दथे । उहाँका अनुसार विगतका वर्षमा यति बेला ३० प्रतिशत हाराहारी मात्र पर्यटक हुने गर्दथे ।

होटलसँगै रेष्टुरेण्ट पनि खुलेका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन ९रेवान० का पूर्वअध्यक्ष गोकर्ण गिरीका अनुसार रेष्टुरेण्टमा ग्राहकहरु आउन थालेका छन् । सौराहामा १०० हाराहारी रेष्टुरेण्ट छन् । तीमध्ये ५६ वटा रेवानका सदस्य छन् । आधाभन्दा बढी रेष्टुरेण्ट खुलेको उहाँले जानकारी दिनुभयो । थोरै कर्मचारीबाट काम थालिएको उहाँको भनाइ छ । गिरीले भने, “हामीलाई आशा जगाएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close