
काठमाडौं । नेपालमा शुक्रबार कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पर्साको वीरगन्जका थप तीन जना र ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।
वीरगन्जमा एकै दिन थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
पर्साका ५६ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवक, वडा नम्बर २ छपकैयाका ६५ वर्षीय वृद्ध गरी तीन जनाको बिहीबार मृत्यु भएको हो । वीरगन्ज–२ छपकैयामा ६५ वर्षीय वृद्ध आफ्नै घरमा मृत फेला परेका थिए । उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
अन्य दुई जनाको भने उपचारका क्रममा अस्पतालमा निधन भएको हो । त्यस्तै शुक्रबार मात्रै पाटन अस्पतालको आईसीयूमा उपचाररत ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । कोरोना संक्रमितको संख्या बढेर समुदायमा नै कोरोना देखिँदा, मृतकको संख्या बढेर भयाभहको अवस्था सिर्जना भइसक्दा पनि नेपालमा सर्तकता भने त्यति राम्रो नदेखिएको भन्दै विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् ।