लिदी पहिरोः थप ३ शव भेटियो, ११ जना अझै बेपत्ता

सिन्धुपाल्चोक, भदौ ४ । गएको शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका(२ लिदीमा गएको पहिरोमा बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ।योसँगै लिदी पहिरोमा बेपत्ता भएकामध्ये २८ जनाको शव फेला परेको छ। पहिरोमा ११ जना अझै बेपत्ता छन्। पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए।

पछिल्लो पटक एक बालक र दुई महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए। पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको शव फेला परेको हो।

हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन्। तीमध्ये १४ बालबालिका छन्। पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन्।

एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा बेपत्ताको खोजी भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close