
काठमाडौं,५ असोज ।कोरोनाका कारण बिगत ६ महिना यता चलचित्रसम्बन्धी औपचारिक कार्यक्रम आयोजना गरिएको थिएन । निषेधाज्ञा खुकुलोसँगै चलचित्र क्षेत्रका गतिबिधि पनि बढ्न थालेको छ । जसअनुरुप चलचित्रसम्बन्धी पहिलो औपचारिक कार्यक्रम सोमबार राजधानीमा आयोजना गरियो । कार्यक्रम हो, नयाँ चलचित्र ‘हिड्दा हिड्दै’ को शुभमुहुर्त ।नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानर र मिलन आले मगरको निर्देशनमा निर्माण हुने प्रेमकथानक चलचित्र ‘हिड्दा हिड्दै’ को शुभमुर्हुत समारोेहमा भौतिक दुरी कायम राख्दै करिब पाँच दर्जन संचारकर्मी उपस्थिति थिए ।
चर्चित संचारकर्मी नरेश भट्टराईले संचालन गरेका कार्यक्रममा उनले झण्डै ६ महिनापछि रंगपत्रकारको बाक्लो उपस्थिति भएको देख्दा निकै खुशी लागेको बताए ।असोज दोश्रो साताबाट छायांकन थालिने ‘हिड्दा हिड्दै’ मा आकाश श्रेष्ठ, सलोन बस्नेत, बिकास थापाका साथमा नवनायिका रेखा शाह प्रमुख भूमिकामा छन् । चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको निर्देशनमा सम्पन्न मुर्हुत सर्टमा आकाश, रेखा र सलोनले अभिनय गरेका थिए । मुर्हुत सर्टमा चलचित्र प्राबिधिक संघका अध्यक्ष पुष्कार लामाले क्यामेरा स्वीन अन गरेका थिए भने अर्का पत्रकार तथा निर्देशक डब्बु क्षेत्रीले क्ल्याप दिएका थिए । त्यसैगरी, नरिवल फोड्ने काम भने चलचित्र पत्रकार संघका महासचिव तथा चलचित्र निर्देशक समीर बलामीले गरेका थिए ।
दिल लामा, रामकुमार थिङ र पारस गुरुङ निर्माता र सुशील पंगेनी प्रस्तुतकर्ता रहेको चलचित्रको स्क्रिप्ट पनि पंगेनीले नै लेखेका हुन् । काठमाडौ उपत्यका र तराइमा खिचिने फिल्ममा देव महर्जनको द्धन्द्ध निर्देशन,बसन्त सापकोटाको संगीत,कविराज गहतराजको नृत्य निर्देशन, अमृत महरठ्ठाको मेकअप,निरञ्जन घिमीरेको ड्रेस, मधुराज भण्डारीको हेयर ड्रेसिङ रहने छ । सुमनकुमार तण्डुकारले खिच्ने चलचित्रको मुख्य सहायक निर्देशकमा यम भण्डारी र राजकुमार थिंङ अनि सहायक निर्देशकमा भुपेन्द्र भुजेल र फणिन्द्र बोहरा छन् ।
कार्यक्रममा अभिनेता आकाशले चलचित्रमा आफू लभर ब्वाइको भूमिकामा रहेको खुलाए । त्यसैगरी अर्का अभिनेता सलोनले चलचित्रमा आफू दर्शकलाई हसाउने तथा रुवाउने, दुवै प्रकारको चरित्रमा रहने बताए ।
नवअभिनेत्री रेखाले ‘हिड्दा हिड्दै’ ले आफूलाई कुशल अभिनेत्रीका रुपमा स्थापीत गर्ने बिश्वास ब्यक्त गरिन् ।निर्देशक आलेले यो चलचित्रमा युवापुस्ताको प्रेमभावनालाई प्रस्तुत गरिने जानकारी दिए भने लेखक समेत रहेका प्रस्तुतकर्ता पंगेनीले दर्शकको रुचि अनुसारको चलचित्र बन्नेमा बिश्वस्त रहेको बताए । औपचारिक रुपमा मुर्हुत कार्यक्रम गरिनुअघि सोमबार बिहान आफूहरुले कोटेश्वरस्थित माता भगवतीको मन्दिरमा स्क्रिप्ट पूजा गरेको निर्देशक आलेले बताए । चलचित्रका अन्य केही कलाकार र एकजना हिरोइन छनौट हुन बाँकी रहेको बताइएको छ ।