अन्तःशुल्कको स्टिकर नेपालमै छापिँदै

काठमाडौं, १३ असोज । नेपालमा पहिलोपटक अन्तःशुल्कको स्टिकर छपाइ हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मद्रणालय सेक्युरिटी प्रेसमा करिब ७० करोड थान स्टिकर छाप्न लागिएको हो । केन्द्रले एक दुई दिनमा नमुना छपाइ गरेर स्वीकृत गराएपछि छाप्ने निश्चित भएको हो । केन्द्रका प्रवक्ता चित्र आचार्यले विभागको डिजाइनअनुसार नमुना स्वीकृत गराएपछि छपाइ शुरू गर्ने जानकारी दिनुभयो ।

विदेशी कम्पनीले छाप्दै आएको अति महत्वपूर्ण स्टिकरको छपाइको टेन्डर रद्द भएपछि जीटुजी प्रक्रियाअनुसार जनक शिक्षा सामग्रीलाई दिन लागेको होे । आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरले केन्द्रसँग दुई महिनाअघि गरिएको सम्झौताका आधारमा छपाइ गर्न लागिएको जानकारी दिनुभयो ।

विभागले सरकारी निकायसँग प्रतिस्पर्धा गर्न नपर्ने भएकाले केन्द्रको सेक्युरिटी प्रेसमा छपाइ गर्न दिएको उहाँको भनाइ थियो । महाप्रबन्धक कुँवरले केन्द्रले केही दिनभित्र छपाइ शुरू गर्ने बताउनुभयो ।

केन्द्रले विभागले दिएको नमुना र सेक्युरिटी फिचर्सको आधारमा स्टिकर छपाइ गर्ने जनाएको छ । पहिलो चरणमा चुरोट र त्यसपछि अन्य क्षेत्रको स्टिकर छपाइ गर्ने विभागको भनाइ छ । महानिर्देशक कुँवरले पहिलो स्टिकर छपाइको गुणस्तर हेरेपछि अन्य काम दिने बताउनुभयो ।

अति गोप्य सामग्रीका रूपमा रहेको स्किटर छपाइ गर्न तीन घेराको सुरक्षा हुनेछ । छाप्ने प्रेसमा नेपाली सेनाको बटालियन तैनाथ हुनेछ भने दोस्रो र तेस्रो घेरामा सशस्त्र र नेपाल प्रहरी बस्नेछ । छपाइ शुरू भएपछि प्रेसमा अपरेटर र केन्द्रका जिम्मेवारी व्यक्ति र विभागका अधिकारप्राप्त व्यक्ति बस्नेछन् ।

केन्द्रका प्रवक्ता आचार्यले स्टिकर छपाइ गर्न भारतबाट ४० टन अल्ट्रा भ्वाइलेट यूभी कागज ल्याइसकेको जानकारी दिनुभयो । सेक्युरिटी फिचर्स रहेको सो कागज टेन्डरबाट खरिद गरिएको हो । यस्तो स्टिकर नेपालमा पहिलोपटक छाप्न लागेको हो ।

विभाग र केन्द्रबीच निरन्तर काम गर्ने गरी सम्झौता भएको छ । सुरक्षाको कारण निजी छापाखानालाई नदिएर जनकलाई जिम्मा दिएको महानिर्देशक कुँवरले बताउनुभयो ।अरू सामानमा प्रयोग हुने स्टिकर मौज्दात रहे पनि चाँडै खपत हुुने चुरोटको स्टिकर सकिनै लागेकाले तत्काल छाप्न स्वीकृत दिएको कुँवरको भनाइ छ । नेपालमा पहिलोपटक छपाइ गर्न लागिएको अन्तःशुल्कको स्टिकर यसअघि लिथोनिया र इन्डोनेसियामा छपाइ गरेर ल्याइएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close