
ललितपुर, ६ कार्तिक । मिर्गौला रोगबाट पीडित उदयपुरकी ४७ वर्षीया देवीमाया मगरको डायलसिस गर्ने पालो आइतबार छ । पाटन अस्पतालमा उनीसँगै डायलसिस गराउँदै आएका दुई जना बिरामीमा कोरोना पोजिटिभ देखियो । त्यसयता अस्पतालले प्रत्येक पटक डायलसिस गर्न पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । डायलसिसका लागि मगर बुधबार कोरोना परीक्षण गर्न गइन् ।
उनले सोधपुछ डेक्समा ज्वरो पनि आएको जानकारी गराएपछि डाक्टरहरूले फिभर क्लिनिकमा भर्ना हुनुपर्ने बताए । त्यसका लागि ६ हजार र पीसीआर परीक्षण गर्न २ हजार ७५ रुपैयाँ लाग्ने सुनाए । कान्तिपुर दैनिकमा खबर छ ।ग्वार्कोमा कोठामा बस्दै आएकी उनी ८ हजार ७५ रुपैयाँ अस्पताललाई बुझाउन नसकेर बुधबार चिन्तित अवस्थामा भेटिइन् । मोबाइलमा आफन्तलाई पैसा जोहो गर्न हारगुहार गर्दै थिइन् । उनका छोरा भन्छन्, ‘आमाको प्रत्येक साता डायलसिस गराउनुपर्छ । अस्पतालले पीसीआर रिपोर्टबिना डायलसिस गराउँदैन ।’
उनका अनुसार औषधि खरिद गर्दा छुट्टै पैसा खर्च हुन्छ । ‘तीनरतीन महिनामा रगत जाँच गराउनुपर्छ,’ उनले भने, ‘७ महिनादेखि एक सुका पैसा आम्दानी भएको छैन । ऋण लिने ठाउँ पनि छैन । उपचार गराउनै मुस्किल पर्ने भयो ।’ उनका अनुसार पीसीआर टेस्ट गराउन नसकेकै कारणले दुई जना बिरामी डायलसिस नगरी फर्किए ।
नगरकोटका २७ वर्षीय राजकुमार मगर परिवार पाल्ने उमेरमा मिर्गौला रोगबाट ग्रसित भए । घरमा आमाबुबा र दिदी मात्र छन् । बुधबार डायलसिस गराउँदा गराउँदै उनलाई अचानक उच्च ज्वरो आयो । कोभिडको शंका लागेर पीसीआर परीक्षण गर्न गए । त्यहाँ शुल्क लाग्ने बताएपछि उनी पनि पैसा नभएर अलपत्र परेको अवस्थामा भेटिए । उनी फोनमा पैसाका लागि हारगुहार गर्दै थिए ।