
काठमाडौं, ७ कात्तिक। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभरिका अस्पतालमा छ हजार हाइ डिपेन्डेन्सी यूनिट(एचडीयू) छिट्टै सञ्चालन गर्न लागेको छ । सो कार्य चार चरणमा हुने छ । सामान्यतया यस्ता युनिटहरूमा अङ्ग प्रत्यारोपण वा प्रमुख अङ्गको शल्यक्रिया गराएका बिरामीलाई अक्सिजनको सुबिधासहितको ब्यवस्था गरिएको हुन्छ । हाल देशमा कोराेना सङ्क्रमण बढ्दै गएका बेला धेरै विरामीलाइ अक्सिजन सुविधा चाहिने भएकाले उक्त सुबिधासहितको यूनिट सुरुवात गर्न देशभरिका करिब चार दर्जन अस्पताललाई बजेट पठाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एचडीयू स्थापनाका लागि अस्पतालहरुलाई चार अर्ब २५ करोड २७ लाख २० हजार रुपियाँ विनियोजन गरी पठाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक प्रदेशमा तीन तीन अस्पतालमा गरी सात प्रदेशको २१ अस्पतालमा २५ शय्याको हाइ डेपेन्डेन्सी यूनिट पहिलो चरणमा सञ्चालनमा आउनेछन् ।” सात वटै प्रदेशका अस्पतालमा २५ शय्याको यूनिट सञ्चालनमा आउनेछन् ।
प्रदेश १ को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी र मेची अस्पताल, प्रदेश २ को जनकपुरधाम, नारायणी र सगरमाथा अस्पताल, वागमती प्रदेशको भरतपुर, हेटौंडा र धुलीखेल अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, वाग्लुङ्ग र गोरखा अस्पताल, लुम्बिनि प्रदेशको लुम्बिनि अस्पताल, राप्ती एकेड्मी अफ हेल्थ साइन्स र भेरी अस्पताल, कर्णाली प्रदेशको कर्णाली एकेड्मी अफ हेल्थ साइन्स, सुर्खेत अस्पताल र जाजरकोट अस्पताल तथा सुदूरपश्चिम प्रदेशको सेती, महाकाली र डँडेल्धुरा अस्पतालमा २५ एचडीयू कक्ष ब्यवस्थाका लागि बजेट विनियोजन गरिएको छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।