
भक्तपुर – भक्तपुर प्रहरीले सडकमा हिँडिरहेकी निकिशा श्रेष्ठलाई जिस्क्याएको आरोपमा पक्राउ गरिएका ३ युवाविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरले निकिशामाथि लैंगिक भेदभावपूर्ण शब्द प्रयोग गरी दुर्व्यवहार गरेको आरोपमा बिहीबार पक्राउ परेका भक्तपुर नगरपालिका १ का १९ वर्षीय सफिल खत्रीसहित तीन जनाविरुद्ध जिल्ला अदालत भक्तपुरमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको हो।
मुद्दा दर्तासँगै शुक्रबार जिल्ला अदालतबाट थप अनुसन्धानको लागि ३ जना युवामाथि ५ दिनको म्याद थप भएको परिसरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिए।
उनले युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि निकिशाले किटानी जाहेरी दिएको बताइन्।
‘पीडितको किटानी जाहेरीपछि पक्राउ परेका तीनजनाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता भएको छ’, प्रहरी उपरीक्षक थापाले भनिन्, ‘मुद्दा दर्ता भएसँगै जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप पनि भएको छ।’
गएको मंसिर २ गते भक्तपुर नपा १ दूधपाटीस्थित सडकमा हिँडिरहेकी निकिशा श्रेष्ठलाई स्कुटर चलाउँदै आएका सफिल खत्री र स्कुटरमा सवार भक्तपुर नपा ५ टौमढी बस्ने १६ वर्षीय युवकले लैंगिक भेदभावपूर्ण दुर्व्यवहार गर्दै भिडियो खिचेका थिए।अन्नपुर्ण पोष्टमा खबर छ ।
उक्त भिडियो उनीहरुका अर्को साथी भक्तपुर नपा ५ टौमढी नै बस्ने १७ वर्षीय युवकले आफ्नो फेसबुकमा टिकटक बनाएर अपलोड गरेका थिए।
उक्त भिडियोमा आफूलाई लैंगिक भेदभावपूर्ण दुर्व्यवहार गर्ने युवाहरुमाथि निकिशा जाइलागेकोसमेत देखिन्छ। त्यस्तै उनीसँगै आएकी अर्की महिलाले पनि ती युवाहरुको दुर्व्यवहारको प्रतिकार गरेको भिडियोमा देखिन्छ।
उक्त भिडियो अपलोड गरिएपछि सामाजिक सञ्जालमा भाइरल नै भएको छ। सामाजिक सञ्जालमा सडकमा हिँडिरहेकी निकिशामाथि दुव्र्यवहार गरेको भन्दै ती युवाहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने भनी नेपाल प्रहरी र साइबर क्राइब व्युरोलाई ह्यासट्याक गरिएको थियो। उक्त भिडियो धेरैले सामाजिक सञ्जालमै शेयर गरेका छन्।
लैंगिक भेदभादपूर्ण व्यवहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नेपाल प्रहरीको साइबर क्राइम ब्युरोले ती युवाहरुलाई पक्राउ गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। उक्त निर्देशनको आधारमा भक्तपुर प्रहरीले बिहीबार उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
सडक हिँडिरहेकी महिलामाथि दुर्व्यवहार गर्ने ३ युवा पक्राउ
सामाजिक सञ्जालमा निकिशा महिला नभई पुरुष नै भएको प्रतिक्रियासमेत आएको छ। तर पुरुष वा महिला जे भए पनि कसैलाई सार्वजनिक रुपमा अभद्र दुव्र्यवहार गर्नु कानुनी अपराध भएको प्रहरीको भनाइ छ।
भक्तपुर प्रहरीकी प्रमुख प्रहरी उपरीक्षक थापाले व्यक्ति जुनसुकै लिंगको भए पनि सार्वजनिक रुपमा कसैलाई अभद्र दुव्र्यवहार गर्न कानुनले बर्जित गरेको स्पष्ट गरिन्।
‘व्यक्ति कुन लिंगको भन्ने कुरा गौण हो’, उनले थपिन्, ‘मुख्य मुद्दा व्यक्तिमाथि सार्वजनिक स्थलमा दुव्र्यवहार गर्न पाइँदैन। यो व्यक्तिको हकअधिकारको हनन र कानुनको बर्खिलाप हो।’