अमेरिकी वैज्ञानिककै अनुसन्धान : कोरोना चीनमा देखिनुभन्दा पहिले अमेरिकामा फैलिसकेकाे तथ्य पत्ता लाग्याे !

करिब एक वर्षअघि खबर आयो- वैज्ञानिकले चीनको उहानमा कोरोना भाइरसको संक्रमण पत्ता लगाए।

तर अमेरिकाका वैज्ञानिकले गरेको नयाँ अनुसन्धानले वास्तवमा कोरोना भाइरसले त्यसभन्दा हप्तौंअघि अमेरिकाका मानिसलाई संक्रमण गरिसकेकाे देखाएकाे हाे।

अमेरिकास्थित सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का वैज्ञानिकले गरेका अनुसन्धानको नतिजा क्लिनिकल इन्फेक्सियस डिजिज नामको पत्रिकामा प्रकाशित छ।

हालसम्म उपलब्ध जानकारीअनुसार जब चीनको हुपेई प्रान्तका स्वास्थ्य अधिकारीले उहानमा धेरै त्यस्ता बिरामी देखिए, जसमा निमोनियाँका गम्भीर लक्षण छन्, साससँग सम्बन्धित अनौठो रोग देखियो भनेर चेतावनी जारी गरे तब सन् २०१९ डिसेम्बर ३१ मा वैज्ञानिकले आधिकारिक रूपमा यसको जानकारी पाए।

तर महामारी सुरु भएको ११ महिनापछि अमेरिकाका वैज्ञानिक भन्छन् : अमेरिकाका तीन राज्यका ३९ जनाको शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबडी पाइयो। जुन चीनका स्वास्थ्य अधिकारीले काेराेनाबारे चेतावनी जारी गर्नुभन्दा २ हप्ताअघि नै उनीहरूको शरीरमा विकास भइसकेको थियो।

यद्यपि अमेरिकाकमा कोरोना भाइरस संक्रमणको पहिलो घटना २०२० जनवरी २१ मा दर्ता भएको थियो।

अनुसन्धानको नतिजा के छ?
यस अनुसन्धानअनुसार अमेरिकामा २०१९ डिसेम्बर १३ देखि २०२० जनवरी १७ सम्म गरिएको रक्तदान कार्यक्रममा ७ हजार ३८९ जनाले रगत दिएका दिए। तीमध्ये १०६ जनाको रगतको नमुनामा कोरोना भाइरसविरुद्ध एन्टिबडी पाइएको हो।

कुनै व्यक्तिको शरीरमा एन्टिबडी पाइनुको अर्थ हो- ऊ पहिले कोरोनाबाट संक्रमित भएको थियो र त्यसविरुद्ध उसको शरीरले रोग प्रतिरोधात्मक शक्ति विकास गरिसक्याे।

अनुसन्धानकर्ताका अनुसार अमेरिककाका क्यालिफोर्निया, ओरेगन र वासिङ्टनमा गत डिसेम्बर १३ देखि १६ सम्म (चीनको उहानमा कोरोना संक्रमण पत्ता लाग्नु डिसेम्बर ३१ अघि) लिइएको रगतको नमुनामध्ये ३९ जनामा कोरोना भाइरसविरुद्ध एन्टिबडी पाइएको हाे।

शोधकर्ताका अनुसार बाँकी ६७ रगतको नमुना जनवरी महिनामा मासेच्युसेट्स, मिसिगन, रोड आइल्यान्ड र विस्किन्सिनमा संकलन गरिएको थियो। यो कुरा यी राज्यमा कोरोना महामारी फैलिनुभन्दा केही पहिलेको हो।

अमेरिकी अनुसन्धानकर्ताका अनुसार अमेरिकामा ठूलो मात्रामा कोरोना महामारी फैलिन सुरु भएको चाहिँ फेब्रुअरीको अन्तिम हप्तादेखि हो।

तर अब कोरोना भाइरसको उत्पत्तिका विषयमा अहिलेसम्म प्राप्त जुन जानकारी छ, त्यसमा अमेरिकाका वैज्ञानिकले गरेको नयाँ अनुसन्धानले परिवर्तन ल्याउला त?

आखिर कोरोना भाइरसको सुरुवात कहाँबाट भयो?
उसो भए कोरोना भाइरस विश्वमा सबैभन्दा पहिले कहाँ देखापरेको हो त? सायद यसको उत्तर दिन कहिले सम्भव हुँदैन। यस्ता संकेत पाइएका छन् कि चीनको उहानमा सन् २०१९ डिसेम्बरमा देखापर्नुभन्दा धेरै हप्ताअघि नै विश्वमा यो भाइरस थियो।

सीडीसीका वैज्ञानिकले के निश्चित गर्न सक्दैनन् भने ती संक्रमित मानिस अमेरिकामै संक्रमित भएका थिए कि यात्राका क्रममा कहींबाट संक्रमण लिएर आए?

रक्तदान कार्यक्रमको आयोजक रेडक्रसले भनेको छ : जुन मानिसको रगतको नमुना संकलन गरिएको थियो, तीमध्ये जम्मा ३ प्रतिशत व्यक्तिले मात्र भर्खरै विदेश यात्रा गरेको बताएका थिए। अनि यीमध्ये ५ प्रतिशत व्यक्तिले एसियाली मुलुकबाट फर्किएको बताएका थिए। बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close