जुकालाई चुसाउँदा पनि निको हुन्छ रोग !

तनहुँको व्यास नगरपालिका–११ पोल्याङका शङ्कर कैनी घाउ पाकेको बेला जुकालाई चुसाएर निको पार्छन्।दूषित रगत (पिप) जुकाले चुसी दिने गरेकोले निको हुने गरेको कैनीले बताए। ‘सामान्य चोटपटक लाग्दा पनि गर्मी मौसममा पाक्ने समस्या हुन्छ त्यस्तो बेला जुका खोजेर चुसाउँछु अनि निको हुन्छ,’ कैनीले भने।

गर्मी मौसमा गाउँघरमा सहजै रुपमा जुका पाइन्छ । विशेष गरेर पानी परेको बेला जुका सक्रिय हुन्छ । मानिस तथा जनावरको रगत चुसेर जुका बाँच्ने गर्छ। गाउँघरमा ‘बीचमा काटियो भने पनि जुका मर्दैन एक भाई थिएँ दुई भाई भएँ भन्छ’ भन्ने प्रचलन छ। यो खबर आजको गोरखापत्र दैनिकमा तनहुँबाट अमरराज नकर्मीले लेखेका छन्।

यही प्रचलनको कारण अगुल्टोको आगोमा पोलेर जुकालाई मार्ने गरिन्छ । सजिलैसँग पाइने जुका विभिन्न रोगको उपचारको लागि हितकारी हुने देखिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले जुकाको चुसाई (लिच थेरापी) माध्यमबाट समेत बिरामीहरुको उपचार गर्न थालिएको छ।

केन्द्रका प्रमुख डा.रामप्रवोध मण्डलले जुकाको चुसाई माध्यमबाट विभिन्न रोगको उपचार गर्दै आएका छन्। मण्डलले युरिक एसिड, टाउँकाको रौ झरेका, अनुहारमा डण्डीफोर आएका,पुरान दाद जुकालाई चुसाएर उपचार गर्दै आएको बताए। यस्तै पायल्स लगायतका रोगका बिरामीको उपचार पनि जुकालाई चुसाएर गरिन्छ।

आयुर्वेदमा ‘जलौकावचारण कर्म’ भनिने यो प्रक्रियाबाट युरिक एसिडका दुई जना विरामीलाई सफल उपचार भैसकेको डा.मण्डलले बताए। कमल फूल फूल्ने क्षेत्रमा पाइने जुकाहरु उपचारको लागि उपयोगी हुने मण्डलको भनाई छ। जुकाले चुस्ने क्रममा निस्किने श्रावमा हिरुडिन नामक इन्जाइम छाड्छ र शरीरभित्रको दूषित रगत चुस्छ।

हातको औंला चिलाउने समस्या भएर औषधी सेवन गर्दा हैरान भएका नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्य यस माध्यमबाट उपचार गरेका छन्। एक साता अघिदेखि दिनमा एक जुकालाई चुसाउँदा छालाको समस्यामा न्यूकीरण हुदै गएको उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close