
काठमाडौं- लोकदोहोरी क्षेत्रमा सक्रिय गायक तथा सर्जक रत्न बानियाँको ५८ वर्षको उमेरमा निधन भएको छ । केही वर्ष यता मिर्गौला फेल भएपछि डायलासिस गराउँदै आएको बानियाको बुधबार बिहान ओम अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा असहज भएपछि मंगलबार अस्पताल लगिएकोमा बुधबार बिहान ३ः३० बजे उनको निधन भएको हो ।
उनले सयौं गीतमा स्वर दिएका छन् । ‘लडाइको लाहुरे’ उनको चर्चित एल्बम हो । ‘बानियाका जिन्दगी के छ र’, ‘मनको वेदना’, ‘पोखरा फेवाताल’ लगायतका अन्य थुप्रै लोकगीत चर्चित छन् ।
रोइला, सालैजो तथा भजन संग्रह समेत ल्याएका बानियाँ झरना संगीत रेकर्डिङ स्टुडियोका संचालक समेत हुन् ।स्याङ्जा जिल्लाको फेदीखोलामा जन्मिएका गायक बानियाँ तीन दशकभन्दा लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय थिए ।बिरामी भएपछि बानियाँले माछापोखरीमा रहेको घर समेत बेचेका थिए ।
मिर्गौला फेल भएपछि लोकदोहोरी क्षेत्रका कलाकारहरुले पनि उनको उपचारमा सहयोग गरेका थिए ।गायक बानियाँको निधनमा लोकदोहोरी क्षेत्रका धेरै कलाकारहरुले दुःख ब्यक्त गरेका छन् । स्वर्गीय बानियाँका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैछ ।