भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप काठमाण्डौ पुग्यो

काठमाण्डौँः भारत सरकारले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुगेको छ।भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप आज बिहान काठमाण्डौ पुगेको हो। कोरोना खोप लिएर आएको एअर इन्डियाको विमान बिहान ११ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डुयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

कोरोना खोप रिसिभ गर्न स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा विमानस्थलमै पुगेका थिए।

बुधबार दिउँसो स्वास्थ्य मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराएको जानकारी दिएका थिए।भारतले उपलब्ध गराउने खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए।

भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया ९एसआईआई० ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार पहिलो चरणमा आउने खोप कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मीहरुलाई दिइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close