धुर्मुस-सुन्तली फाउण्डेसन निर्माणका लागी भरतपुर महानगरले दियो चार करोड

पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले रु चार करोड सहयोग हस्तान्तरण गरेको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका–१५ मा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अगाडि बढाउन भरतपुर महानगरले आज थप रु चार करोड सहयोग गरेको हो । यसअघि महानगरले फाउण्डेशनलाई रु चार करोड दिइसकेको छ ।

महानगरपालिकामा आयोजना गरिएको कार्यालयमा प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । महानगरको आन्तरिक स्रोतबाट रङ्गशाला निर्माण कार्यका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई पटकपटक गरी पहिले रु चार करोड र अहिले थप रु चार करोड प्रदान गरिएको बताउनुभयो ।

सो अवसरमा फाउण्डेशनका अध्यक्ष धुर्मुसले रङ्गशाला निर्माणको कामलाई अगाडि बढाउन यो सहयोगले सहज बनाएको प्रतिक्रिया दिनुभयो । उहाँले स्थानीय सरकार र जनताको सहयोगमा रङ्गशाला निर्माण कार्यलाई टुङ्गोमा पु¥याउने बताउनुभयो । रङ्गशाला निर्माण सहयोगार्थ यसअघि महायज्ञको आयोजना गरिएको थियो ।

चेक हस्तान्तरणको अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालसँगै उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतको उपस्थिति रहेको थियो ।

चितवनका तीन ठाउँबाट खोप अभियान शुरु

कोभिड–१९ विरुद्धको खोप अभियान जिल्लाका तीन ठाउँबाट शुरु गरिएको छ ।

भरतपुर अस्पताल, रत्ननगर बकुलहर अस्पताल टाँडी र बघौडा अस्पताल माडीबाट शुरु गरिएको हो । भरतपुरमा अस्पतलका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा जगन्नाथ तिवारी, टाँडीमा महिला स्वयंसेविका ईश्वरीदेवी बस्नेतले पहिलो डोज खोप लगाएर शुभारम्भ गरिएको छ । यस्तै माडीमा नगरपालिका स्वास्थ्य संयोजक शिव सुवेदीले पहिलो डोज लगाएर शुभारम्भ गरिएको हो ।

जिल्लामा चार हजार २०० लाई पुग्ने खोप आएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकालाई समेटेर खोप दिइने छ । यस्तै रत्ननगर अस्पतालमा पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकालाई समेटेर खोप दिइने छ । माडीमा माडी नगरपालिकाभित्रकालाई दिइने कार्यक्रम रहेको प्रमुख तिवारीले बताउनुभयो ।

आगामी नौ दिनभित्रमा पहिलो चरणको खोप लगाइसक्ने उहाँले जानकारी दिनुभयो ।

कृषि गणनाको तयारी

तथ्याङ्क कार्यालय चितवनले जिल्लामा हुने कृषि गणनाका लागि तयारी शुरु गरेको छ । राष्ट्रिय जनगणना सकिएलगत्तै कृषि गणना गरिँदै छ । कार्यालयले आज यहाँ आयोजना गरेको सचेतना गोष्ठी कार्यक्रममा राष्ट्रिय कृषि गणनाका विषयमा जानकारी गराइएको थियो ।

कृषि गणनामा जिल्लामा रहेका आठ धुरभन्दा बढी क्षेत्रफलमा कृषि पेशा गरेकालाई समावेश गरिने छ । कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार कृषि गणनाका क्रममा पालिकास्तरबाटै काम गरी गणना गरिने छ । यस गणनाबाट कति क्षेत्रफलमा कृषि कर्म गरिन्छ, कसरी गरिन्छ र के कस्ता खेती गरिन्छ भन्ने विषयमा वास्तविक तथ्याङ्क लिइने छ । गणक आफैँ घरदैलोमा पुगेर गर्ने कृषि गणनामा एक वा एकभन्दा बढी गाईबस्तु, पाँच वा पाँचभन्दा बढी भेडाबाख्रा, २० वा २० भन्दा बढी पंक्षी पालेर आफ्नो जीविको पार्जन गर्दै आएका किसानको सङ्ख्या लिइने छ ।

प्रमुख भण्डारीका अनुसार चितवनमा विसं २०७८ पुसदेखि फागुन सम्म गणना गरिने छ । पहाडी क्षेत्रमा विसं २०७९ सालको वैशाखदेखि असारसम्म गरिने छ । गणनामा जिल्लाको प्रमुख उत्पादन के कति, सिँचाइयोग्य क्षेत्रफल कति, अस्थायी र स्थायी बाली के कति, भाडामा कति क्षेत्रफलमा कृषि गरिन्छलगायतका विषयबस्तु समेटिने उहाँले जानकारी दिनुभयो । गणनाका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति रहेको र सोही समितिले पूर्वतयारीका काम गरिरहेको भण्डारीले बताउनुभयो । राष्ट्रिय जनगणना सकिएको छ महिनापछि कृषि गणना शुरु हुनेछ । जनगणनाका समयमा सात स्थानीय तहमा राखिएका कार्यालयलाई नै प्रयोग गरी गणना गरिने कार्यक्रममा जानकारी दिइयो । कूल गार्हस्थ उत्पादनमा २७ प्रतिशत योगदान दिने कृषि क्षेत्रलाई यो गणनाले आधुनिकीकरण गर्नका लागि टेवा पुग्ने विश्वास लिइएको प्रमुख भण्डारीको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले कृषि गणनाले कृषि क्षेत्रमा भएको लगानी वास्तविकता ल्याउने हुँदा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि प्रधान देशमा कृषि गणनाको महत्व भिन्न हुनु आवश्यक छ ।”

सो अवसरमा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्मा, कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकाल, पत्रकार सिर्जना अर्याल, रमेशकुमार पौडेललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close