प्रतिनिधिसभा विघटन जनचाहनाविपरीत भएको आरोप

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका नेताहरुले सरकारले जनचाहनानुरुप काम गर्न नसकेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । बुटवलमा आज आयोजित सभामा नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले सरकारले नेपाली जनताको भावना र चाहना नबुझेको र यसबाट समस्या भएको बताउनुभयो । उनीहरुले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको र सरकारले समय तोके पनि निर्वाचन हुन असम्भव रहेको विचार व्यक्त गरे ।

सभामा नेकपाका अध्यक्ष नेपालले ४४१ सदस्यीय नेकपा मात्रै वैधानिक रहेको भन्ने निर्वाचन आयोगको निर्णयले आफ्नो समूह नै मुख्य पार्टी भएको जिकिर गर्नुभयो । “निर्वाचन आयोगले ४४१ को बहुमत जहाँ छ त्यो मूल पार्टी हो भनेको छ । त्यसैले हामी नै मूल पार्टी हौँ ”, पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो ।

अर्का अध्यक्ष दाहालले पार्टी एकताको मर्मविपरीत प्रधानमन्त्रीले तीन वर्ष नबित्दै सहमति तोड्ने काम गरेको आरोप लगाउनुभयो ।प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धिको बाटामा अघि बढाउनाको साटो प्रतिनिधिसभा नै भङ्ग गरेर जनचाहनाविपरीत काम गरेको धारणा राख्दै पूर्वप्रधानमन्त्री दाहालले संविधान र लोकतन्त्रको रक्षाका लागि एक ठाउँमा आउन सबैलाई अपिल गर्नुभयो ।

पार्टी स्थायी कमिटीका सदस्य घनश्याम भुसालले समृद्धि र समाजवादतर्फ अघि बढ्नुपर्नेमा सरकार गलत बाटामा हिँडेको आरोप लगाउनुभयो । प्रधानमन्त्रीले पार्टीले लिएको बाटो छाडेर एक्लै अगाडि बढ्न खोज्दा समस्या सिर्जना भएको टिप्पणी गर्दै पूर्वमन्त्री भुसालले पार्टीविरुद्ध पनि आवाज उठाउन तयार हुनुपर्ने अवस्था आएको बताउनुभयो ।
अर्का स्थायी कमिटी सदस्य वर्षमान पुनले सरकारले माओवादी जनयुद्ध र त्यसमा सहभागी घाइते अपाङ्गता भएका पूर्वलडाकुलाई राहत र उपचार गर्न नसकेको भनाइ राख्नुभयो । सभामा नेकपाका नेता युवराज ज्ञवाली, चक्रपाणि खनाल, ओनसरी घर्तीलगायतले जनचाहनाविपरीत प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close