
काठमाडौं, १ फागुन । ‘राम जन्मेको प्रमाणित गर्न सुडा–सुडेनी खोज्न कहाँ जाऊँ ?’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई व्यांग्यात्मक जवाफ दिनुभएको छ ।
शनिबार बुटवलको उत्तरी चुरेदेखी पाल्पाको केबलकार शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रामको जन्म मिति र जन्म भूमि प्रमाणित गर्न प्रचण्डले दिनुभएको चुनौतीलाई व्यांग्यात्मक रुपमा जवाफ दिनुभएको हो ।
कार्यक्रममा उहाँले भन्नुभएको छ, ‘अब म त्यसबेलाका सुडा–सुडेनी खोजेर ल्याऊँ कि के खोजेर ल्याऊँ, राम जन्माउँदा कौशल्याका छेउमा मै थिए भन्ने को फेला पर्ला ?’ केही दिनअघि भृकुटीमण्डपमा आयोजित विरोध सभा कार्यक्रममा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तथ्यगत रुपमा राम जन्मेको मिति र जन्म भूमि खोजेर ल्याउन प्रधानमन्त्री ओलीलाई चुनौती दिनुभएको थियो ।
त्यतिबेला प्रधानमन्त्री ओलीले चितवनमा आफूले अयोध्यापुरीमा रामसीताको मन्दिर बनाउन लाग्दा सोही क्षेत्रका जनप्रतिनिधि रहेका प्रचण्डले कुनै चासो नदिएको आरोप लगाएका थिए। साथै, प्रधानमन्त्री ओलीले तथ्य प्रमाणित गर्न भन्दा पनि आफ्नो राजनीतिक उचाई बढाउनका लागि अयोध्यापुरीको विषय उठान गरेको बताउनु भएको थियो ।
शनिबार अध्यक्ष प्रचण्डको त्यहिँ प्रश्नको फरक तरिकाले जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘संसारमा अन्य कुनै भूमि राम जन्मभूमि भनेर प्रमाणित भएको छैन, फैजावादमा डेढ सय वर्ष अगाडिसम्म अयोध्या नामै थिएन । अनि अयोध्यापुरी जहाँ राम जन्मिएका थिए, प्रमाण चाहियो रे फेरि।’
कतिपय कुराहरु श्रृति, परम्पार, व्यवाहार र दर्शनका आधारमा पुष्टि हुने प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।