सिरहामा युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता

सिरहा नगरपालिका–१८ इटारीमा एक युवकको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा इटारी निवासी २२ वर्षीय अजितकुमार यादव रहेको प्रहरीले जनाएको छ । आपसी विवादमा साढुदाइ नाता पर्ने मुनेश्वर यादवले निर्घात कुटपिट गर्दा अजितको मृत्यु भएको परिवारजनले बताएका छन् । कुटपिटबाट गम्भीर घाइते भएका अजितलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति बाटोमै मृत्यु भएको मृतकका भाइ नवीनकुमार यादवले जानकारी दिनुभयो ।

आपसी विवादमा मुनेश्वरलगायतका व्यक्तिले निर्घात कुटपिट गरेकोे र त्यही कारणले मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएको मृतकका भाइ नवीनले बताउनुभयो ।यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले कुटपिटका कारण मृत्यु भएको जाहेरी दर्ता गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । मृतकको शव परीक्षणको लागि सिरहा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

अवैध भारतीय नोटसहित यादव पक्राउ : प्रहरीको टोलीले दुई लाख ५० हजार अवैध भारतीय नोटसहित सिरहाबाट आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सहरसा ग्राम किसनपुर पञ्चायत–२ निवासी ६० वर्षीय चतुरी यादव रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बीआर ०६ एएन ०३५७ नम्बरको मोटरसाइकलमा सवार यादवलाई रु दुई हजार दरको तीन थान र ५०० दरको ४८८ थान गरी रु दुई लाख ५० हजार अवैध भारतीय रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । बरामद भारतीय रुपैयाँसहित यादवलाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय सिरहा माडरमा बुझाइएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close