हरेक प्रहरी कर्मचारी रोलमोडेल बन्नु पर्छ- प्रहरी महानिरीक्षक क्षेत्री

काठमाडौं-प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुले सदैव साधारण जीवनशैली अवलम्वन गरी नागरिकलाई उच्चतम सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कार्यरत प्रहरी कर्मचारीहरु तथा सोही महाविद्यालयमा विभिन्न तालिमहरुमा तालिमरत प्रशिक्षार्थीहरुलाई सोमबार निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभएको हो । प्रहरी सेवालाई सेवामुखी बनाउन कर्मचारी स्वयं व्यावसायिक प्रहरी बन्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, ‘प्रहरी सेवा सबैभन्दा उत्कृष्‍ट सेवा हो, समर्पित बनौं ।’

सेवाग्राहीप्रति विनम्र हुने तर विनम्रतालाई कमजोरी नठान्ने भावनाको विकास गर्दै प्रहरी सेवा प्रदान गर्ने क्रममा सकारात्मक भूमिका निर्वाह गर्दै हरेक प्रहरी कर्मचारी रोलमोडेल बन्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रशिक्षण सम्बन्धी तालिम केन्द्रमा कार्यरत कर्मचारी, प्रशिक्षक तथा विभिन्न तालिममा तालिमरत प्रशिक्षार्थीहरुलाई संगठनका खाँतिर शिरोधार्य गर्नुपर्ने निर्देशन दिँदै एकआपसमा भाइचाराको भावना अभिवृद्धि गर्नुपर्ने उल्लेख गर्नुभयो । सीमित साधन स्रोतका वावजुद उल्लेखनीय काम भइरहेको तथा उपलब्ध सुविधामा खुशी हुन सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अनुगमन तथा निर्देशनको सिलसिलामा उक्त महाविद्यालय पुग्नु भएका प्रहरी महानिरीक्षक थापा क्षेत्रीले महाविद्यालय परिसरभित्र वृक्षारोपण समेत गर्नुभएको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैगरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय पाल्पामा सोमबार आयोजित कार्यक्रमबीच जिल्ला प्रहरी कार्यालय पाल्पा तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिनुभयो ।

साथै उहाँले जिल्ला प्रहरी कार्यालय पाल्पाको निर्माणाधीन भवन तथा कार्यालय परिसर अवलोकन समेत गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा कायम गर्ने तथा अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने काममा अझै सक्रिय हुन निर्देशन दिँदै आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो । आपसमा भातृत्वभाव कायम गर्दै सहयोगी भावनाको विकास गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । परिवार सुखी भए प्रहरीले राम्रो सेवा दिन सक्ने भएकोले परिवारलाई समेत यथेष्ठ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।निर्देशन सम्बोधन कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र बहादुर धानुकको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close