सीमा क्षेत्र छाङ्ग्रु गाउँका एक्ला चौकीदार

दार्चुला। व्यास गाउँपालिका–१ छाङ्ग्रुका ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौकीदार छन्। तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो। यहाँ वर्षमा झण्डै चारदेखि छ फुटसम्म हिमपात हुन्छ।

अत्यधिक चिसो हुने गरेका कारण यहाँका नागरिक छ महिना सदरमुकाम खलङ्गा र छ महिना व्यास उक्लिने गर्छन्। अहिले चिसो समय भएका कारण यहाँका नागरिक गत मङ्सिर महिनामा आफ्ना पशुचौपाया र लालाबालासहित सदरमुकाम खलङ्गा झरेका छन् तर ऐतवाल चिसोको समयमा पनि गाउँको चौकीदारी गर्दै बसे।

व्यासको छाङ्ग्रुमा यसपटक चिसो माइनस १६ डिग्रीसम्म झर्यो तर चौकीदार ऐतवालले यो चिसोलाई सहजै छले। छाङ्ग्रुमा १२० घरधुरीको बसोबास छ। गाउँका सबै सदरमुकाम झरेपछि उनलाई वडा नं १ को कार्यालयले चौकीदार राखेको हो।

गाउँको निगरानी गर्ने, चोरी भए खबर गर्ने उनको जिम्मेवारी हो। ऐतलाल भन्छन्, “चोर, तस्करसँग लड्न त कहाँ सकिन्छ तर निगरानी गर्छु। विगतमा भारतसँग खुला सीमा तथा तस्करी चल्ने समय हुँदा चौकीदार बस्नुपथ्र्यो। त्यो बेला गाउँमा आएर आगलागी गरिदिने, धन सम्पत्ति चोरीदिने खतरा हुन्थ्यो”, उनले भने, “तर अहिले त्यो अवस्था छैन।”

दुई वर्षदेखि चौकीदार बस्दै आउनुभएका ऐतवाललाई यसपटक सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म र नेपाल प्रहरीसमेत छाङ्ग्रुमै बसेपछि सहज भयो। “विगतमा गाउँभरि एक्लै हुन्थेँ तर यस वर्ष पहिलोपटक सरकारले दुईवटा सुरक्षा निकायलाई बाह्रैमास छाङ्ग्रुमै राखेपछि चौकीदारीमा सजिलो भयो”, उनले भने, “यस वर्ष विगतको भन्दा हिउँ पनि कम पर्यो। गाउँको वरिपरि दैनिक दुई÷चारपटक फन्को लगाउँछु”, ऐतवालले दिनचर्या सुनाए। उनका अनुसार पूरै गाउँ घुम्न १० मिनेट लाग्छ। बिहान, दिउँसो र रातिको समयमा सबैको घरघर पुगेर अवस्था हेर्नुपर्छ।

दिउँसो घाम लाग्छ। यसपटक उनले आफ्ना पशुचौपाया पनि सँगै राखेका छन्। पशुचौपायालाई जङ्गल पठाउनेदेखि खेतबारीमा काम गरेर उहाँको समय बित्ने गर्छ। एक्लै बस्न डर लाग्दैन भन्ने प्रश्नमा ऐतवाल भन्छन्, “यस्तो कैलाश भूमिमा के को डर ?” ऐतवाललाई वडा कार्यालयले मासिक रु १० हजार दिने गरी चौकीदार राखेको हो। गाउँको सुरक्षा पनि हुने, रोजगारी पनि सिर्जना हुने भएपछि पाँच/छ महिनाका लागि चौकीदार राखिएको वडाध्यक्ष अशोकसिंह बोहरा बताउँछन्। हामीले पहिले पनि स्थानीय तह नहुँदा चौकीदार राख्थ्यौँ। व्यासका स्थानीयवासी वैशाख दोस्रो सातादेखि व्यासको छाङ्ग्रु र तिङ्कर उक्लिने तयारीमा छन्।

तिङ्कर मानवशून्य बस्ती

चीनको सीमा नजिकैको दार्चुलाको उत्तरी क्षेत्रको एउटा गाउँ यतिबेला मानवशून्य बस्ती छ। व्यास–१ तिङ्कर बस्ती अहिले मानवविहीन बनेको हो। गत मङ्सिर महिनामा यहाँका ६५ घरधुरी चिसो छल्न सदरमुकाम खलङ्गा औल झरेपछि यो बस्ती मानवशून्य बनेको हो। आफ्नै भूमि जान घोरेटो बाटो छैन। भारतीय भूमि भएर जान पनि त्यति सहज छैन । कोभिडको जोखिमका बेला यहाँका नागरिक भारतसँग समन्वय गरेर सीतापुल नाका भएर सदरमुकाम झरेका थिए।

अहिले तिङ्करमा कोही छैनन्। सदरमुकाम खलङ्गाबाट नेपालकै भूमि भएर तिङ्कर पुग्नै पाँच दिन लाग्छ । छाङ्ग्रुबाट तिङ्कर जान आधा दिन लाग्छ। तिङ्करमा छ महिना सुरक्षाकर्मीको उपस्थिति हुने गर्दछ। तिङ्करस्थित सीमा प्रहरी चौकी अहिले व्यासको छाङ्ग्रु झरेको छ। तिङ्करबाट नेपाल–चीन सीमा क्षेत्र पुग्न पाँचदेखि छ घण्टा लाग्छ। पिलर नं १ बाट सोझै झर्यो भने चीनको स्वशासित क्षेत्र तिब्बत पुगिन्छ।

तिङ्करमा बस्ने नेपाल प्रहरी छ महिना छायालेकमा बस्ने गर्छ। अहिले मानवशून्य रहेको तिङ्कर गाउँसम्म कहिलेकाहीँ सशस्त्र प्रहरीले ‘एलआरपी’ गस्ती गर्ने गरेको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म छाङ्ग्रुले जनाएको छ। “सधैँ यस ठाउँसम्म पनि पुग्न सकिने अवस्था थिएन”, प्रहरी नायब उपरीक्षक धीरेन्द्र शाहले भने, “हिउँ भएका कारण कहिलेकाहीँ वस्तुस्थिति बुझ्न जाने गरेका छाैं।”

स्वास्थ्यचौकीमा ताला

व्यासको छाङ्ग्रुमा स्वास्थ्यचौकी छ तर त्यहाँ बाह्रैमास स्वास्थ्यकर्मी र औषधि हुँदैनन्। गत कात्तिकमा सौका समुदायको कुञ्चासँगै स्वास्थ्यकर्मी खलङ्गा झरेका छन् तर यसपटक सरकारले बाह्रैमास सशस्त्र प्रहरीको गुल्म र नेपाल प्रहरी छाङ्ग्रुमै राख्यो। “यद्यपि सामान्य बिरामी हुँदा पनि औषधोपचार गराउन स्वास्थ्यचौकी छैन”, प्रहरी नायब उपरीक्षक शाह भन्छन्, “यसपटक पाँच जना स्थानीयवासी पनि यही गाउँमा बसे। यस क्षेत्रमा पाँच/छ फिट हिउँ पर्छ। चिसो बेला आगो तापेर भए पनि ड्युटी गर्नुपर्यो। चिसोले झन् बिरामी हुने सम्भावना हुन्छ।” राज्यले सशस्त्र प्रहरीका लागि राम्रो अस्पताल बनाउन सकेको छैन।

सशस्त्र प्रहरीले सुरक्षाकर्मीको जाँचका लागि गाउँमै चिकित्सक ल्याएर शिविर आयोजना गर्यो। जवानका लागि आयोजना गरिएको शिविरमा स्थानीयवासीलाई समेत स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको शाहले बताए। गाउँमा स्वास्थ्य संस्था प्रमुख नहुँदा सशस्त्र प्रहरीकै अहेवले औषधि दिने तथा बिरामी हेर्ने काम गर्छन्। सशस्त्र प्रहरी जवान अहेव किसनसिंह साउदले गाउँले बिरामी हुँदा औषधोपचार गर्ने गरेको प्रहरी नायब उपरीक्षक शाह बताउँछन्। “हामीले केही प्राथमिक उपचारका औषधि मात्रै बोकेका छौँ । त्यहीबाट स्थानीयवासीलाई समेत वितरण गर्नुपर्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close