
लायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको यही अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ ।
बेलायतको राजदरबार बकिङ्घमका प्रवक्ताले ९९ वर्षको उमेरमा स्वर्गारोहण हुनु भएका फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गर्ने निर्णय भएको शनिबार जानकारी दिनुभएको छ ।
गत शुक्रबार नै उहाँको निधन भएपनि संवैधानिक प्रक्रिया मार्फत उहाँको अन्त्येष्टि गर्नु पर्ने भएकाले ढिला हुने भएको अधिकारीहरुले बताएका छन् ।
स्थानीय समय अनुसार अप्रिल १७ तारिखको दिउँसो ३ बजे विन्डसोरमा रहेको जर्ज गिर्जाघरमा उहाँको अन्त्येष्टि सुरु गरिने तय भएको छ ।
कोरोनाभाइरसको महामारीका कारण अन्त्येष्टि समारोहमा सर्वसाधारणलाई सहभागी हुन नदिइने भएको छ भने अत्यावश्यक ठानिएका ३० जना व्यक्तिलाई मात्रै सहभागी गराइने भएको छ ।
उहाँको निधनमा देशभरी आठ दिन शोक मनाउने निर्णय भएको सरकारले जनाएको छ । शोक मनाउने समयमा देशभरी राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ भने राजदरबारमा पुरै झण्डा झुकाइने भएको छ ।
उहाँको निधनपछि बेलायती पूर्व युवराज ह्यारी पनि केही समयका लागि दरबार फर्किनु हुने भएको छ । राजपरिवारको सम्पूर्ण जिम्मेवारी त्यागेर अमेरिकामा बस्दै आउनु भएका ह्यारी आफ्नी श्रीमती मेघन बेगर नै बेलायत आउन लाग्नु भएको हो ।
मेघन गर्भवती भएकाले यात्रा नगर्न चिकित्सकहरुले सुझाव दिएका थिए ।
दिवंगत फिलीपको सम्मानमा शनिबार देशभरी सलामी दिइएको थियो । उहाँलाई श्रद्धान्जली दिन दरबारमा फूल नचढाउन पनि शाही अधिकारीहरुले आग्रह गरेका छन् । बरु उहाँको सम्झनामा सामाजिक कार्यमा योगदान गर्न शाही सदस्यहरुले प्रोत्साहन गरेका छन् ।
बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलीपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घमले घोषणा गरेको थियो ।
सन् १९४७ मा एलिजावेथसँग बिहे गर्नुभएका राजकुमार फिलिपले बेलायतकी महारानीसँग ७३ वर्षसम्म वैवाहिक जीवन बिताउनुभएको राजदरबारले जनाएको छ । उहाँहरूको विवाह भएको पाँच वर्षपछि मात्र एलिजावेथ महारानी बन्नुभएको थियो ।
‘द ड्यूक अफ एडिनबरा’को उपाधिले चिनिने राजकुमार फिलिपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि उहाँको निवासमा लगिएको थियो । राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी र १० जना पनाति–पनातिनीहरू हुनुहुन्छ । राजकुमार फिलिप ‘ग्रीक आइल्यान्ड अफ कोर्फु’मा सन् १९२१ जुन १० मा जन्मिनुभएको थियो । उहाँ हेलेन्सका राजा जर्ज प्रथमका कान्छा छोरा हुनुहुन्थ्यो ।