
काठमाडौं । कोरोना उपचार केन्द्र बनेको भेरी अस्पताल, नेपालगन्जकी स्टाफ नर्स प्रीति खड्कालाई शुक्रबार पीपीई लगाएर काम गर्ने जागँरै थिएन । महिनावारी भएकाले सेनेटरी प्याड लगाउनुपर्ने बाध्यता थियो ।त्यसमाथि पीपीई थपिँदा शरीर बाफिएर उकुसमुकुस हुन्छ । तर पीपीई नलगाए महामारीको सिकार हुने डर हुन्छ । पीपीई लाउनै पर्यो । यहाँ दिनहुँ संक्रमित थपिँदै छन् । सबैले सहज उपचार नपाउने समस्या छ । त्यसैले उनी नयाँ वर्षदेखि बिदा नबसी खटिएकी छन् ।
प्रीति शनिबार रात्रि ड्युटीमा खटिइन् । उनीसँगै स्टाफ नर्स कमला नेपाली, सुनिता साहकारी, निशा पुन, यमनकुमारी थापा कोरोना संक्रमितको पलपलको अवस्था बुझ्दै हेरचाहमा खटिएका थिए । उनीहरुका अनुसार एक जनाले ३० , ४० जना बिरामीलाई औषधी खुवाउनुपर्छ । दबाइ खुवाएर मात्रै कहाँ सुख पाउनु ! बिरामीको छटपटीले मन पोल्छ ।
पीपीईभित्रको गर्मी त छँदैछ । वार्डबाट बाहिर निस्किएपछि उनीह्रुले ठूलो युद्ध जितेजस्तो महसुस गर्छन् । त्यो अनुभुति क्षणिक हुन्छ । उनीह्रुलाई शनिबार अन्य दिनभन्दा धपेडी भयो । नयाँ सिफ्टका अन्य साथीहरु आउन ढिला गरेपछि पीपीई खोलेर बस्न सक्ने अवस्था रहेन ।
औषधि खुवाएर वार्ड बाहिर अस्पतालको छेउमा राखिएको सोफामा तीन जना नर्स लस्करै थकान मेट्दै थिए । त्यही बेला खिचेको तस्विर शनिबार र आइतबार सामाजिक सञ्जालमा भाइरल बन्यो । तस्विर कसले खिच्यो ? नर्स यमकुमारीलाई अलिअलि याद छ । थकाइले आँखा खुल्न सकेका थिएनन् । अस्पतालमा चेकअप राउन्डमा आएका चिकित्सक चन्द्रप्रकाश साहुले ‘तिमिहरुकाे फोटो खिच्दिऊँ भन्दै जिस्काएका थिए । ‘फेरि हामी भाइरल हौंला है’ भन्दै कोही हासेको थियो ।कान्तिपुरdf va/ 5 .