प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ८२ हजारले १२ दिन मात्रै रोजगारी पाए

काठमाडौं । सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत हालसम्म ८२ हजार ५ सयले मात्र रोजगारी पाएका छन् ।कोरोना महामारी चलिरहेकै बेला चालू आर्थिक वर्षको बजेटमा सरकारले २ लाखलाई न्यूनतम रोजगारी दिने घोषणा गरेपनि हालसम्म ८२ हजार ५ सयले रोजगारी पाएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेशमा २१ हजार ५४, कर्णाली प्रदेशमा १६ हजार २०० र प्रदेश–२ मा १५ हजार ६०० ले रोजगारी पाएका छन् ।

उनीहरूले औसतमा १२ दिनको रोजगारी पाएका छन् । ज्यालाबापत अहिलेसम्म ५७ करोड ९५ लाख रुपैयाँ वितरण गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम सचिवालयले बताएको छ ।चालू आर्थिक वर्षमा ७ लाख ५३ हजार १६६ जना बेरोजगारको सूचीमा सूचीकृत भएका थिए ।

रोजगारी पाउन योग्यलाई काम दिन चालू आर्थिक वर्षमा ७ अर्ब ८६ करोड बराबरका १० हजार ५ सयभन्दा बढी कार्यक्रम छनोट गरिएको सचिवालयले जानकारी दिएको छ ।

चालू आर्थिक वर्षमा १० अर्ब ३४ करोड बजेट रोजगार कार्यक्रम कार्यान्वयन गर्न विनियोजन गरिएको थियो ।

यसै वर्षबाट कार्यान्वयन हुनेगरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अघि बढाउन विश्व बैंकले १३ अर्ब ६५ करोड रुपैयाँ सहुलियत ऋण दिएको थियो ।आगामी आर्थिक् वर्षका लागि प्रधानमन्त्री रोजगार कार्याक्रममार्फत रोजगारी दिन आवेदन गरिएकोमा हालसम्म ७ लाख ७ हजारभन्दा बढीको आवेदन परिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close