फिल्म स्टार : आफैंले निम्त्याएका प्रतिस्पर्धी

काठमाडौं । पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय कलाकार हुन्, अनमोल केसी । होस्टेल फिल्ममार्फत उदाएका यी हिरोले आफ्नो जेनेरेसनलाई हलसम्म ल्याउने काम गरे । यति मात्र हैन आफ्नो जेनेरेसनकै भरमा फिल्म चलाउन सक्ने पनि यिनै हुन् भन्दा फरक नपर्ला । किनकी दशक अगाडि फर्किने हो भने, फिल्मका हिरो राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट मात्र हुने गर्थे । तर, यतिबेला त्यो अवस्था फेरिएको छ । आर्यन सिग्देलले आफूलाई ‘लभर ब्वाई’को रुपमा फिल्ममा स्थापित गरिसकेपछि उदाएका अनमोलले त्यसलाई निरन्तरता दिए ।

फिल्म बन्ने स्वरूप फेरियो । त्यसपछि कमश: उदाए प्रदीप खड्का, पल शाह, सलिनमान बनियाँ, धिरज मगर आदि । यतिबेला अधिकांश नेपाली फिल्मका मेकरले लभस्टोरी फिल्मको तयारी गर्दा सोच्ने नाम माथि उल्लेखित नै हो । किनकी दर्शकमार्फत यिनै हिरोले ‘चकलेटी’ को ट्याग पाएका छन् । साथै, यिनको डेब्युको कथा पनि उस्तै छ । डेब्युमै चकलेटी लुक्सका कारण नोटिस भएका अनमोलले जति फिल्ममा अभिनय गरेका छन् त्यसको तुलनामा धेरै छाडेका छन् । उनले सुनेकै फिल्मको कथाले स्टार बनेका हुन्, प्रदीप खड्का ।

सुदर्शन थापाले लभ स्टोरी फिल्म निर्देशनको सोच बनाएपछि सोचिएको नाममध्ये एक हुन्, अनमोल । ‘प्रेम गीत’ मा उनले अनमोललाई ‘प्रेम’ को क्यारेक्टरमा नदेखेका होइनन् । यद्यपि यी दुइको सहकार्य भएन । अन्ततः फिल्ममा अडिसनमार्फत आए, प्रदीप । अध्ययनको लागि अस्ट्रेलियामा उडान भर्न तयार प्रदीपलाई ‘प्रेम गीत’ ले अवसर मात्र दिएन, स्टार नै बनायो । उनका फ्यानले प्रदीपलाई ‘प्रेम’ भनेर पनि सम्बोधन गर्ने गरेका छन् ।

प्रदीपले पनि पहिलो फिल्मको सफलतापछि स्टारडम नदेखाएका होइनन् । मौखिक कुराकानीमा लगभग ‘ए मेरो हजुर २’ फिल्म गर्ने तय भएता पनि प्रदीप फिल्मको छायांकनको समयसम्म हिरो रहेनन् । झरना थापाको डेब्यु निर्देशन रहने फिल्मका लागि अनमोल र प्रदीपलाई अफर नगएको होइन । तर, स्टारसँग चित्त बुझ्दो छलफल नभएपछि निर्माण पक्षले नयाँ अनुहार सलिनलाई फिल्ममा ल्याएको हो ।

एकाध विज्ञापन र मोडलिङ गरेका सलिनलाई लुक्सकै कारण फिल्ममा कास्ट गरिएको थियो । जसले फिल्मलाई फाइदा नै पुर्‍यायो भने क्षेत्रलाई नयाँ अप्सन पनि दियो । त्यसपछि निर्माता निर्देशकले अनमोल र प्रदीपसँगै सलिनलाई पनि लभ स्टोरीमा हिरो देख्न थाले । यस्तै, फिल्म नाई नभन्नु ल ४ मार्फत उदाएका कलाकार हुन्, पल शाह । म्युजिक भिडियोमा स्थापित भइसकेका पललाई निर्देशक विकासराज आचार्यले डेब्यु गराएका हुन् । त्यसपछि उनले अभिनय गरेको फिल्म म यस्तो गीत गाउँछुलाई दर्शकले रुचाए । फलस्वरूप म्युजिक भिडियोमा बटुलेको क्रेजले उनी पनि स्टारमै गनिए । त्यसपछि उनले फिल्ममा निरन्तरता दिइरहेका छन् ।

चकलेटी हिरोको लिस्टमा पलसँगै धिरज मगर पनि थपिए । उनी कोरियोग्राफर रेनाशा वान्तवा राईको डेब्यु निर्देशन रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ मार्फत डेब्यु गरेका हुन् । दोस्रो फिल्म रिलिज नहुँदै धिरज सम्भावना बोकेको अनुहारमा परिसकेका छन् । धिरज अगावै निर्माण पक्षले केहीँ स्थापित चकलेटी हिरोलाई कास्ट गर्ने तयारी नगरेको होइन । तर, आपसी कुरा नमिल्दा नयाँ अनुहार धिरजले दर्शकसामू प्रस्तुत हुने अवसर पाए ।

यसरी डेब्यु संयोग हेर्दा एकपछि अर्का चकलेटी हिरोले आफ्नो अप्सन आफैले तयार गरेका छन् । ढिलोचाँडो नयाँ अनुहार आउने त थिए नै तर, स्थापित भइसकेपछि यिनैले आफ्नो प्रतिस्पर्धीलाई आफैंले फिल्म नगरीमा ल्याए भन्दा फरक नपर्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close