
काठमाडौं, ६ असाेज – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा एकलौटी निर्णय गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् ।
मंगलबार कांग्रेस नेता तथा सांसद डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सत्ता गठबन्धनका दलहरूबीच सहमति भएपछि पौडेलले देउवाले एकलौटी गर्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।
पौडेलको आपत्तिपछि सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका छन् । देउवा पक्षका एक नेताका अनुसार आसन्न १४ औं महाधिवेशन तयारी र पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीबारे बारे छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।
देउवाले आफूनिकट बालकृष्ण खाणलाई गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाइसकेका छन् । परराष्ट्रमन्त्री पनि देउवाले आफू निकटका खड्कालाई बनाउन चाहेपछि पौडेल पक्ष रुष्ट बनेको हो । पौडेल पक्षका नेताहरूले पदाधिकारी बैठकअगाडि छुट्टै छलफल गर्ने तयारी गरेका छन् । पौडेल पक्षको बैठक आज बिहान ९ बजे बोहोराटारमा बस्ने पौडेल निकट एक नेताले बताए ।
‘सभापतिले पार्टीभित्र सल्लाह गरेर नै जानुहुन्छु,’ देउवा निकट ति नेताले भने, ‘परराष्ट्रमन्त्री तत्काल आवश्यक परेकाले खड्कालाई बनाउने नेताहरूले सहमति गरेका हुन् ।’ पौडेल पक्षबाट सुजाता कोइराला र डा. मिनेन्द्र रिजाल परराष्ट्रमन्त्रीका दावेदार थिए ।
कांग्रेसले परराष्ट्रमन्त्री पाउने सत्ता गठबन्धनका नेताहरूबीच सहमति भएपछि देउवाले खड्कालाई जिम्मेवारी दिन चाहेको बताएका थिए । देउवाले यसअघि स्वास्थ्य राज्यमन्त्री नियुक्ति गर्दा पनि गठबन्धनमा विवाद भएको थियो । देउवा नेतृत्वको सरकार गठन भएको ७१ दिन वितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै गठबन्धनको चर्को आलोचना भइरहेको छ ।