मुकुन्द न्यौपाने ‘नेता’ बन्दा किन अटाएनन् वामदेव गौतम ?

काठमाडौं, ७ असोज- नेकपा एमालेबाट विद्रोह गरेर माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठकले पदाधिकारी टुंगो लगाएको छ ।

नेपालको अध्यक्षतामा गठित पार्टीको वरिष्ठ नेतामा झलनाथ खनाल चयन हुँदा पुराना वामपन्थी नेता मुकुन्द न्यौपाने तेस्रो वरीयतामा ‘नेता’ हैसियतमा पार्टी पोर्टफोलियोमा परेका छन् ।

पदाधिकारीमा उपाध्यक्षको हैसियतमा चौथो वरीयतामा राजेन्द्र पाण्डेदेखि पदाधिकारीको अन्तिम वरीयतामा सचिवको हैसियतमा रामकुमारी झाँक्रीसम्म अटाउँदा एउटा परिचित अनुहारको खोजी हुन थालेको छ ।

एमालेबाट वरिष्ठ उपाध्यक्षसहित साधारण सदस्यबाट राजीनामा बुझाएर हिँडेका नेता वामदेव गौतम नेकपा (एस)को वरिष्ठ उपाध्यक्ष बन्ने पक्कापक्की जस्तै थियो ।

नेता नेपाल स्वयंले गौतमलाई पार्टीको दोस्रो वरीयतामा अटाउने सार्वजनिक घोषणा नै गरे । तर, पार्टी गठनदेखि लिएर पदाधिकारी चयनसम्म आइपुग्दा गौतम पार्टीको कुनै जिम्मेवारीमा देखिएनन् ।

नेकपा (एस)को पहिलो केन्द्रीय कमिटी बैठकमा समेत अनुपस्थित गौतमलाई पार्टीले कुनै जिम्मेवारी दिएन । एमालेसँग सम्बन्धविच्छेद गरेको घोषणा गरे पनि नेकपा (एस)सँग उनको सम्बन्ध नगाँसिएको सो पार्टीका केन्द्रीय सदस्य प्रेमलकुमार खनाल बताउँछन् ।

‘एमालेबाट राजीनामा दिए पनि उहाँ हाम्रो पार्टीसँग वैधानिक सम्बन्धमा हुनुहुन्न, सायद दुईतिर खुट्टा राख्न खोजेको हो कि !’, खनालले न्युज कारखानासँग भने ।

वामदेव गौतमका निकट मानिने नेता हरि पराजुलीसमेत पार्टीको पदाधिकारीमा नअटाएपछि अब वामदेव के गर्छन् भन्ने सर्वत्र चासो छ ।

वामदेव निकट एक नेताका अनुसार नेकपा (एस)ले जनताको बहुदलीय जनवाद नमान्ने बताएका कारण उनी नेकपा (एस)सँग असन्तुष्ट छन् ।

एमालेबाट राजीनामा दिएर हिँडे पनि उनको राजीनामा हालसम्म स्वीकृत भएको छैन । गौतम भने अब जनताको बहुदलीय जनवादलाई टेकेर वैज्ञानिक समाजवादको यात्रा तय गर्ने कार्यनीति र कार्यदिशा भएको पार्टीको खोजीमा छन् ।

गौतमको यो लाइन एमालेसँग मिले पनि नेकपा (एस)ले संगठनको सैद्धान्तिक अवधारणा जबज नै हुने बताइरहेको छ । पार्टीको कार्यनीति, कार्यदिशा र सिद्धान्त के हुने भन्ने विषयमा वरिष्ठ नेता भलनाथ खनाल नेतृत्वको टिमले दस्तावेज लेखन गरिरहेकाले यो विषय नटुंगिएसम्म गौतमको खुट्टा दुईवटा डुंगा (एमाले र नेकपा एस)मै बसिरहने एकीकृत समाजवादीका एक नेताको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close