
महोत्तरी-तिहार सुरु हुन दुई÷तीन दिन बाँकी छँदै अहिले फूल खोज्न व्यापारी बस्ती–बस्तीमा पसेका छन् । घरआँगन परिसरमा ढकमक्क फुलेका सयपत्री, गोदावरी र मखमली फूल ‘ल, मलाई दिनुहोला’ भन्दै व्यापारीले हातहातमा अग्रिम पैसा थमाएपछि गृहिणीहरूमा खुशी छाएको हो ।
“यो आँगनको फूलले आम्दानी देला भन्ने त सोचिएकै थिएन, आम्दानी लिने गरी लगाइएको पनि होइन”, भङ्गाहा नगरपालिका–४ रामनगरकाका रसिया चौधरी थारूले भनिन्, “अहिले व्यापारी आफैँ घर आएर ३०÷३५ बोटको फूललाई ‘एक हजार दिन्छु’ भन्दै बैना (अग्रिम पेश्की) थमाएर गएका छन् ।
तिहारताका फुल्ने फूलबाट अहिले नसोचेको अतिरिक्त आम्दानी भएको उनको भनाइ छ । यसले पर्वको मुखमा सानातिना फुटकर खर्च गर्न पाइएको उनी बताउँछिन् ।