
मुम्बई । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत चलचित्र ‘पुष्पाः द राइज अफ अनस्टपएवल’ ले प्रदर्शन भएको दुई दिनमा सय करोड भारतीय रुपैयाँभन्दा बढी व्यापार गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्र प्रदर्शन भएसँगै दुई दिनमा विश्वव्यापी रुपमा पुष्पाले १ सय १६ करोड भारतीय रुपैयाँको व्यापार गरेको हो । शुक्रबारबाट प्रदर्शनमा आएको यस चलचित्रले पहिलो दिनमा सामान्य व्यापार गरेको थियो ।
सुस्त रुपमा बक्स अफिसमा सुरुआत गरेको यसले शनिबारको प्रदर्शनबाट भने राम्रो आम्दानी गरेको जनाइएको छ ।सौर्य दैनिकमा खबर छ । शुक्रबारबाटै प्रदर्शनमा आएको ‘स्पाइडर–मेनः नो वे होम’ सँग चलचित्र हलमा जुधे पनि पहिलो दिनमा गरेको व्यापारको तुलनामा दोस्रो दिन भने उल्लेख्य व्यापार गरेको छ ।
सुकुमारको लेखक तथा निर्देशनमा निर्माण भएको यस चलचित्रमा अभिनेता अल्लु अर्जुनसँगै अभिनेत्री रश्मिका मन्दन्ना र फाहद फासिलको अभिनय छ । तेलुगु चलचित्रमा फासिलको यो पहिलो चलचित्र हो । मलयालमसँगै तमिल, कन्नड र हिन्दी भाषामा प्रदर्शनमा आएको चलचित्रले समीक्षकबाट समेत सकारात्मक प्रतिक्रिया पाएको छ ।